वीरगञ्ज, २४ माघ : बाराको भारत–नेपाल सीमावर्ती मुसहर्वा नाकाबाट पछिल्लो समय व्यापक रूपमा भन्सार चोरी पैठारी भइरहेको स्थानीयवासीहरूले गुनासो गरेका छन्। उनीहरूका अनुसार दैनिक रूपमा लत्ताकपडा, किराना सामग्री, प्लास्टिकका सामान, मदिरा, इलेक्ट्रोनिक्स सामग्रीलगायतका वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याइँदै आएको छ।
स्थानीय बासिन्दाहरूको भनाइमा उक्त नाकाबाट हुने तस्करी मुसहर्वा प्रहरी चौकीको प्रत्यक्ष निगरानी क्षेत्रभित्र पर्दछ। तर, प्रहरी चौकी प्रमुख नारायण लुइटेलको संरक्षणमै तस्करी निर्वाध रूपमा सञ्चालन भइरहेको आरोप उनीहरूले लगाएका छन्। तस्करहरू निर्धारित समयमा समूह बनाएर सीमापारिबाट सामान ल्याउने र कुनै अवरोधबिना नेपाल भित्र पुर्याउने गरेको स्थानीयहरूको दाबी छ।
स्थानीय एक व्यक्तिका अनुसार, “पहिले–पहिले लुकिछिपी हुने तस्करी अहिले खुलेआम भइरहेको छ। प्रहरी चौकी नजिकैबाट सामान ओसार्दा समेत कुनै जाँच हुँदैन। यसले प्रहरीकै मिलेमतो रहेको आशंका बलियो बनाएको छ।”
तस्करी बढ्दै जाँदा राज्यलाई ठूलो मात्रामा राजस्व नोक्सानी भइरहेको मात्र होइन, स्थानीय व्यापारीहरू समेत मारमा परेका छन्। भन्सार तिरेर व्यवसाय गर्ने व्यापारीहरूले अवैध रूपमा भित्रिएका सस्ता सामानसँग प्रतिस्पर्धा गर्न नसक्दा व्यापार धराशायी बन्दै गएको उनीहरूको गुनासो छ।
यस विषयमा मुसहर्वा प्रहरी चौकी प्रमुख नारायण लुइटेलसँग प्रतिक्रिया लिन खोज्दा उहाँसँग सम्पर्क हुन नसकेको बताइएको छ। यद्यपि, प्रहरी स्रोतले भने सीमामा निगरानी भइरहेको र तस्करी नियन्त्रणका लागि प्रयास जारी रहेको दाबी गरेको छ।
लुइटेलको केहि दिन अगाडी जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएपनि अहिले उनी त्यहीँ तस्करी सञ्चालनमा रमाइरहेको बुझिन्छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी निकट रहेका लुइटेल एकै पटक मुसहर्वा नाकाको कमाण्ड सम्हाल्न पुगेका थिए ।
स्थानीयवासीहरूले भने आरोपको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यदि यस्ता गतिविधि तत्काल रोकिएनन् भने सीमावर्ती क्षेत्रमा कानूनप्रति आम नागरिकको विश्वास कमजोर हुने उनीहरूको चेतावनी छ।
