बाराको परवानीपुर गाउँपालिकामा गाउँपालिका प्रहरीले अनुमति बिना घरमा प्रवेश गरी खानतलासी गरेको आरोप लगाउँदै स्थानीयहरू आक्रोशित भएका छन् । आक्रोशित स्थानीयहरूले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
परवानीपुर–३ का स्थानीय राजेश यादवको घरमा उनी घरमा नभएको समयमा गाउँपालिका प्रहरीले नेपाल प्रहरीसँग मिलेर अनुमति र वैधानिक प्रक्रिया बिना खानतलासी गरेको आरोप स्थानीयले लगाएका छन् । केही दिनअघि भएको साइकल चोरीको घटनालाई आधार बनाएर मात्र शङ्काको भरमा यस्तो कार्य गरिएको उनीहरूको भनाइ छ ।
घटनाको विरोधमा सोमबार स्थानीयहरूले गाउँपालिका कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् । स्थानीयहरूले गाउँपालिका अध्यक्षसहित सम्बन्धित जनप्रतिनिधि र कर्मचारीहरूले घटनाबारे स्पष्टिकरण दिनुका साथै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका छन् ।
पीडित राजेश यादवले आफू यातायात व्यवसायी भएको र बजारमा राम्रो प्रतिष्ठा रहेको बताउँदै कुनै प्रमाण वा आधार बिना घरमा खानतलासी गरिनु बदनाम गराउने नियतबाट भएको आरोप लगाए । “मेरो घरमा खानतलासी गर्नुको उद्देश्य मलाई सामाजिक रूपमा बदनाम गर्नु मात्र हो,” उनले भने ।
यादवका अनुसार उनी यसअघि लोसपा पार्टीमा आवद्ध भएको र निर्वाचनको समयमा उक्त पार्टी त्याग गरेकै कारण विपक्षीहरुले अहिले चरित्र हत्या गर्न लागेको प्रतिक्रिया दिएका छन । पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टी परित्याग गरेकै कारण व्यक्तिगत रिसइबी साध्न अध्यक्षले गाउँपालिका प्रहरी प्रयोग गरेको उनको आरोप छ ।
विरोधमा सहभागी अर्का स्थानीय युवा प्रकाश यादवले गाउँपालिका वा नगरपालिकालाई कुनै पनि व्यक्तिको घरमा प्रवेश गरी खानतलासी वा सोधपुछ गर्ने कानुनी अधिकार नभएको बताए । उनले गाउँपालिका प्रहरीले आफ्नो मूल जिम्मेवारीभन्दा पार्टीगत गतिविधिमा बढी संलग्न भएको आरोप लगाए ।
“फोहर व्यवस्थापन, पूर्वाधार सुधारजस्ता काममा कुनै चासो छैन । कर्मचारीहरू मनलाग्दी गर्छन् । नगर प्रहरी दिनभरि पार्टीको झोला बोकेर हिँड्छन् । अनि शङ्काको आधारमा मात्र घरमा पुगेर तलासी गर्नु सरासर गलत हो,” उनले भने ।
