बाराको प्रसौनी गाउँपालिका–५, प्रस्टोकास्थित राधा कृष्ण सहकारी संस्थाले सरकारी अनुदानमा प्राप्त नेपाली मल भारतीय बोरामा पल्टी गरी किसानलाई महँगो मूल्यमा बिक्रीवितरण गर्ने गरेको भन्दै स्थानीयस्तरमा गुनासो बढ्दै गएको छ।
स्थानीय स्रोतका अनुसार सहकारीसँग सम्बन्धित व्यक्तिहरूले अनुदानमा प्राप्त डिएपी र युरिया मल भारतीय बोरामा पुनः प्याकेजिङ गरी बजार मूल्यभन्दा बढी रकम लिएर बिक्री गर्दै आएको आरोप लागेको छ। सहकारीका सञ्चालक शिवशंकर साहमाथि अनुदानको मल कालोबजारी गर्ने गरेको आरोप लगाइएको छ।
त्यस्तै, रबिन्द्र साह र राम अवध सहनीको समेत संलग्नतामा मल भारतीय बोरामा पल्टी गरी बिक्रीवितरण गर्ने कार्य भइरहेको स्थानीयको दाबी छ। स्थानीयवासीका अनुसार ट्रकमार्फत दैनिक रूपमा ठूलो परिमाणमा मल ओसारपसार गरी अवैध कारोबार हुने गरेको गुनासो समेत उठेको छ।
यसैबीच, केही दिनअघि इलाका प्रहरी कार्यालय प्रसौनीले विशेष सूचनाको आधारमा छापा मारेर एक सयभन्दा बढी बोरा मल बरामद गरेको थियो। बरामद गरिएको मल आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको थियो।
स्थानीयवासीहरूले छापापछि पनि राधा कृष्ण सहकारीसँग सम्बन्धित फर्ममार्फत अवैध रूपमा मल बिक्रीवितरण भइरहेको दाबी गरेका छन्। किसानहरूलाई खेतीपातीको मुख्य सिजनमा समेत मल अभाव भइरहेको अवस्थामा सहकारीले अनुदानमा प्राप्त मल कालोबजारी गरी महँगो मूल्यमा बिक्री गरेको आरोप गम्भीर रहेको उनीहरूको भनाइ छ।
स्थानीयले कृषि प्रयोजनका लागि सरकारले उपलब्ध गराएको अनुदानको मल किसानसम्म सहज रूपमा पुग्नुपर्नेमा केही व्यक्ति तथा संस्थाले व्यक्तिगत लाभका लागि कालोबजारी गरिरहेको आरोप लगाउँदै यस्ता कार्यमा संलग्न फर्म तथा व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Parsa Times
Made by Pahilo Drishti
