पर्सामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा आयोजित प्रतियोगितामा सबैभन्दा बढी पदक जित्दै ठोरी गाउँपालिका प्रथम भएको छ ।
आयोजक पर्सा जिल्ला खेलकुद विकास समितिका अनुसार ठोरी गाउँपालिकाले १५ स्वर्ण, ९ रजत र ४ कास्य गरी कुल २८ पदक जित्दै उपाधि हात पारेको हो । त्यसैगरी पर्सागढी नगरपालिकाले ९ स्वर्ण, १० रजत र ८ कास्यसहित २७ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ भने वीरगंज महानगरपालिकाले ४ स्वर्ण, ५ रजत र ९ कास्य गरी १८ पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा कबड्डी पुरुषतर्फ वीरगंज महानगरपालिका र कबड्डी महिलातर्फ पर्सागढी नगरपालिका प्रथम भएका छन् । यस्तै भलिबल पुरुषतर्फ धोबिनी गाउँपालिका तथा भलिबल महिलातर्फ ठोरी गाउँपालिका विजेता बनेका आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताहरूलाई पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुले ट्रफी र मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाई गाउँपालिका तथा धोबिनी गाउँपालिकाका ३७५ विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायत विभिन्न खेल समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन शनिबार मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका थिए ।
