पर्साको ठोरी गाउँपालिका–४ माली बस्ती नजिक भारततर्फ जाने बाटोमा आज बिहान पाटेबाघ मृत अवस्थामा फेला परेको छ। हुलाकी सडकदेखि करिब ५०० मिटर दक्षिणतर्फ बिहान करिब ७ः३० बजे स्थानीयले बाघ देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार सूचना पाएलगत्तै प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको नेतृत्वमा टोली घटना स्थलमा खटिएको थियो। अनुसन्धानमा पर्सा राष्ट्रिय निकुञ्जको आधारभार र नेपाली सबुज गणको टोली समेत सहभागी भएको छ।

प्रहरीका अनुसार घटना स्थल प्रहरी चौकीबाट करिब ४ किलोमिटर टाढा पर्छ। पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्जमा ल्याइएको बताए।

“बाघको बाहिरी भागमा सामान्य चोटपटक देखिएको छ। यो बाघ आपसमा जुध्दा हो वा अन्य कारणले घाइते भएको हो भन्नेबारे शव परीक्षणपछि मात्रै निश्चित हुनेछ,” न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय