
संविधानसभा सदस्य प्रमोद गुप्ता र पूर्व प्रदेश सभा सदस्य पारस साह जनमत पार्टीमा प्रवेश गरेका छन्। बाराको कलैयामा सोमबार जनमत पार्टीद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा गुप्ता र साह जनमत पार्टीमा प्रवेश गरेका हुन्। दुवै जना अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन्।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले दुवै नेतालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरे। त्यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पर्यटनमन्त्री वसन्त कुशवाहा लगायतका नेताहरूको पनि उपस्थिति थियो।
सोमबार जनमत पार्टीमा प्रवेश गरेका गुप्ता बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए। साह भने २०७४ को निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
सोमबारको पार्टी प्रवेश कार्यक्रममा संविधान सभा सदस्य गुप्ता, पूर्व प्रदेश सभा सदस्य साहसहित ७ सय भन्दा बढी व्यक्तिहरू विभिन्न दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी बाराले जनाएको छ।