
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
आइतबार राति काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए।
उनले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताए। मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताए।
शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे। मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे। उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरु संशोधन गरी अघि बढिरहेको बताए। मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताए।
उनले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताए।