नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)को निर्वाचनमा अनलाइन भोटिङ र सदस्यता नवीकरणको माग राखेर दोस्रो दिन धर्ना दिएका छन ।
इन्जिनियरहरूले यो विषयलाई लिएर एनईएको केन्द्रीय कार्यालय पुल्चोकमा धर्ना दिएका हुन् ।
उनीहरूले ‘सदस्यता नवीकरण तथा म्याद थप गर’, ‘अनलाइन भोटिङ लागु गर’, ‘सर्वसम्मत निर्वाचन लागु गर’ भन्ने नारा लगाएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनलाई निष्पक्ष, समावेशी, पारदर्शी, विश्वसनीय तथा सर्वस्वीकार्य बनाउन सरोकारवालाहरूले संयुक्त अपिलमार्फत अर्थपूर्ण सहभागिता र संवादको माग गरेको इन्जिनियर परवेज खानले बताए ।
साथै संयुक्त अपिलमा एसोसिएसनको सदस्यता विवरणमा देखिएको ठूलो अन्तरप्रति गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरिएको बताए ।
करिब ३२ हजार सदस्यलाई बाहिर राखेर निर्वाचन गर्दा उचित प्रतिनिधित्व हुन नसक्ने उनीहरूको भनाइ छ ।
विगतका निर्वाचनहरूमा निर्वाचनको मिति निर्धारण, निर्वाचन कार्यक्रम तथा कार्यतालिका, सदस्यता व्यवस्थापन, मतदाता नामावली लगायतका विषयमा सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल, परामर्श तथा समन्वय हुँदै आएको थियो ।
तर, यसपटक निर्वाचनको मिति तथा विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक हुनुअघि सम्बन्धित सरोकारवाला पक्षहरूसँग पर्याप्त तथा औपचारिक परामर्श हुन नसकेको उनीहरूको भनाइ छ ।
आन्दोलनरत पक्षले निर्वाचन कार्यतालिका पुन: परामर्श गरी समयसापेक्ष एवं समावेशी बनाउनुपर्ने माग राखेका छन् ।
एनईएले भने आगामी असोज २ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । जसमा उम्मेदवारको मनोनयन दर्ता यही भदौ १३ र १४ गतेका लागि तय गरिएको छ ।
