वीरगञ्ज। नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष अनुप तिवारीले पर्साका सीमावर्ती क्षेत्रमा लागू गरिएका सरकारी नीतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सीमावर्ती नागरिकलाई अनावश्यक रूपमा दुःख नदिन सरकार र जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
तिवारीले जारी गरेको ध्यानाकर्षणमा सीमावर्ती नागरिकलाई तस्करसँग एउटै दृष्टिले हेर्ने प्रवृत्ति उचित नभएको उल्लेख गर्दै सीमामा बसोबास गर्ने आम नागरिकको दैनिक जीवन, पारिवारिक सम्बन्ध तथा आवागमनमा असर पुग्ने गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन्।
उनका अनुसार तस्करी नियन्त्रणका नाममा पर्साको भिष्वा र ठोरी नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोक्ने, स्थानीय बासिन्दाले घरेलु प्रयोजनका सामान ल्याउन नदिने तथा छोटी भन्सार सञ्चालन नगरी नागरिकलाई सास्ती दिने कार्य भइरहेको छ।
तिवारीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण आवश्यक भए पनि तस्कर र सर्वसाधारणबीच स्पष्ट भिन्नता छुट्याएर मात्रै सुरक्षा र भन्सारका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले सीमावर्ती नागरिकलाई पेलेर वा उनीहरूमाथि अविश्वास गरेर सीमा सुरक्षा सुदृढ हुन नसक्ने दाबी गरेका छन्।
उनले विगतमा पनि यस्तै नीति र व्यवहारका कारण सुरक्षा निकायले सीमा क्षेत्र छाड्नुपरेको इतिहास स्मरण गराउँदै त्यस्ता अवस्था पुनः दोहोरिन सक्ने चेतावनी दिएका छन्।
तिवारीले सीमावर्ती नागरिकको सामाजिक, आर्थिक तथा पारिवारिक सम्बन्धमा प्रतिकूल असर पर्ने कुनै पनि सरकारी गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै पर्साबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूले यस विषयमा गम्भीरतापूर्वक आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
