वीरगञ्ज, १६ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पिपरा गाउँपालिका वडा नम्बर १४ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह ९पराग० ले आज टोलवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममार्फत उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग खुला संवाद गर्दै उनीहरूको दैनिक समस्या, विकाससम्बन्धी अपेक्षा र भावी योजनाका विषयमा गहिरो रूपमा छलफल गर्नुभएको थियो।

भेटघाटका क्रममा स्थानीयहरूले शिक्षा, रोजगारी, पूर्वाधार विकास र युवाको भविष्यसँग जोडिएका सवालहरू उठाएका थिए। ती प्रश्न तथा सुझावलाई ध्यानपूर्वक सुन्दै उम्मेदवार सिंहले आफू सधैँ जनताको आवाज सुन्ने र त्यसलाई नीतिगत तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन बाहिरबाट होइन, युवाबाट नै सम्भव हुने स्पष्ट धारणा राख्दै युवाशक्ति नै समृद्ध समाजको आधार भएको बताउनुभयो।

उम्मेदवार सिंहले रोजगारीका लागि काठमाडौं वा ठूला सहरतर्फ मात्रै हेर्ने सोच परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। “गाउँमै बसेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ, सम्भावना यहीँ छन्,” उहाँले भन्नुभयो, “सही नीति, योजना र नेतृत्व भए गाउँ–समाजकै विकास सम्भव छ।” यसले स्थानीय स्रोत र साधनको उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको दृष्टिकोणलाई स्पष्ट रूपमा देखाउँछ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित जनप्रतिनिधिका रूपमा गरेको काम र त्यहाँबाट बटुलेको अनुभव उल्लेख गर्दै उम्मेदवार सिंहले स्थानीय तहमा सिकेको पाठ अब संघीय संसदसम्म पुर्‍याउने अठोट व्यक्त गर्नुभयो। स्थानीय तहमा काम गर्दा जनताको समस्या नजिकबाट बुझ्ने अवसर पाएको र यही अनुभवले संसदमा प्रभावकारी रूपमा जनआवाज उठाउन सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय जनताले उम्मेदवार सिंहलाई अनुभवी, जनमुखी र व्यवहारिक नेताका रूपमा लिएको देखिन्थ्यो। प्रत्यक्ष संवाद र सरल शैलीले उहाँप्रति जनताको चासो र विश्वास क्रमशः बढ्दै गएको विश्लेषण गर्न सकिन्छ।

उज्यालो नेपाल पार्टीले आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस किसिमका कार्यक्रमले उम्मेदवार र मतदाताबीचको दूरी घटाउँदै वास्तविक समस्या र समाधानलाई नजिक ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय