वीरगञ्ज, १६ माघ । पर्सा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले शहिद दिवसको अवसरमा मधेस आन्दोलनका शहिदहरूको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शुक्रबार शहिद दिवसको अवसरमा वीरगञ्जको घण्टाघरस्थित मधेसी शहिद स्मारक पार्कमा पुगेर उम्मेदवार कानुले मधेस आन्दोलनका क्रममा ज्यान आहुति दिएका शहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष रामको सालिकमा फूल अर्पण गर्दै नमन गरेका हुन्।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उम्मेदवार कानुले शहिद दिवसजस्तो महत्वपूर्ण दिनमा समेत मधेस आन्दोलनका शहिदहरू मधेस केन्द्रित राजनीतिक दलहरूको प्राथमिकतामा नपरेकोप्रति दुःख व्यक्त गरे। मधेसी समुदायको अधिकार, पहिचान र सम्मानका लागि ज्यान बलिदान दिने ती शहिदहरूको योगदान आफ्नो दिल र दिमागमा सधैँ ताजा रहेकाले शहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको उनले बताए।
विगतमा भएका हरेक मधेस आन्दोलनमा आफू सक्रिय रूपमा सहभागी भएको स्मरण गर्दै कानुले भने, “मधेस आन्दोलनका यिनै शहिदहरूको बलिदानकै कारण आज मधेस र मधेसीले अपमान र विभेदको सट्टा पहिचान र सम्मान पाएका छन्। यी शहिदहरूलाई म कहिल्यै बिर्सिन सक्दिन। शहिदहरूले देखाएको बाटोमा सदैव हिँड्ने प्रयास गर्नेछु।”
उनले मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनका आन्दोलन र विद्रोहमा ज्यान आहुति दिने सम्पूर्ण शहिदहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै शहिदहरूको सपना पूरा गर्न इमानदार राजनीति र जनताको पक्षमा दृढ संघर्ष आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। शहिद दिवसको अवसरमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रमले मधेस आन्दोलनका शहिदहरूको स्मरण गर्दै उनीहरूको बलिदानलाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
