वीरगञ्ज, १५ माघ
पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२ स्थित बैरिया बिर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीय जनता, समाजसेवी, भरभलाद्मी तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
घरदैलो अभियान र खुला छलफलका क्रममा उम्मेदवार कानुले स्थानीयवासीहरूको धारणा, समस्या र अपेक्षा सुन्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ छापमा मतदान गर्न आग्रह गरे। उनले जनतासँग प्रत्यक्ष संवादमार्फत राजनीति गर्ने र उनीहरूको आवाज संसदसम्म पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याए।

उम्मेदवार कानुले विगत करिब तीन दशकदेखि देशमा व्यक्ति–केन्द्रित राजनीतिले जरा गाडेकै कारण विकास, सुशासन र समृद्धिमा अपेक्षित प्रगति हुन नसकेको उल्लेख गरे। उनले भने, “अब पुरानै शैलीको राजनीति दोहोर्याएर देश अगाडि बढ्दैन। जनताको प्रत्यक्ष सहभागिता र जनउत्तरदायी शासन प्रणाली आजको आवश्यकता हो।”
उनले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई सुधार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य रोडम्याप नै सही विकल्प भएको दाबी गरे। पुराना दल र नेताहरूले पटक–पटक दिएका आश्वासन व्यवहारमा नदेखिँदा जनतामा निराशा र असन्तोष बढेको भन्दै अब भाषणमुखी होइन, परिणाममुखी र जवाफदेही राजनीति आवश्यक भएको उनको भनाइ थियो।

अन्तरक्रियाका क्रममा स्थानीयवासीहरूले पनि देशको समग्र राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले लामो समयदेखि उही अनुहार, उही नारा र दोहोरिएका वाचा–प्रतिवाचाबाट आजित भएको बताउँदै वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व अपरिहार्य भएको धारणा राखे।

विशेषगरी युवाहरू तथा जेन–जी पुस्ताले आफ्नो चाहना, सपना र भविष्यसँग मेल खाने राजनीतिक शक्ति खोजिरहेको उल्लेख गर्दै उम्मेदवार कानुले रास्वपाप्रति युवाहरूको विश्वास र समर्थन बढ्दै गएको बताए। स्थानीय युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने प्रतिबद्धता जनाउनु आफूहरूका लागि उत्साहजनक भएको उनले प्रतिक्रिया दिए।

घरदैलो र प्रत्यक्ष संवादकै माध्यमबाट जनताको समस्या पहिचान गरी तिनको समाधानका लागि संसदमा मजबुत आवाज उठाइने प्रतिबद्धता जनाउँदै उम्मेदवार कानुले आगामी दिनमा चुनावी अभियानलाई अझ व्यवस्थित र तीव्र बनाइने जानकारी दिए।
उनले जनतासँगै रहेर राजनीति गर्ने संस्कारलाई संस्थागत गर्दै पर्सा–२ बाट परिवर्तनको नयाँ सुरुवात गर्ने लक्ष्य रहेको बताए।
