
तराईका जिल्लामा प्रहरीप्रति जनविश्वास विस्तार हुँदै गइरहेका बेला सर्लाहीमा भने केही प्रहरीका कारण उक्त छवि धमिलिने खतरा बढेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हनुमान राउत अहिरमाथि मुद्दा मिलाउने नाममा पैसा असुली गरेको गम्भीर आरोप लागेको छ।
स्थानीय पीडितका अनुसार सई राउतले मुद्दा बलियो बनाउने वा कमजोर पार्ने नाममा सम्बन्धित पक्षसँग बार्गेनिङ गर्दै रकम असुल्ने कार्य गर्दै आएका छन्। कतिपय अवस्थामा पीडित र पीडक दुवै पक्षसँग पैसा लिने प्रयाससमेत गरिएको आरोप छ।
एक पीडितले त हनुमान राउत आफैं घरमै आइपुगेर रकम माग्दै मानसिक दबाब दिएको दाबी गरेका छन्। बढ्दो गुनासोका बीच उनलाई सिराहा सरुवा गरिएको भए पनि उनले ‘काज’ मिलाउँदै अझै सर्लाहीमै बसेर प्रभुत्व जमाइरहेको स्रोतको दाबी छ।
प्रहरी संगठनभित्र भ्रष्टाचार नियन्त्रण र जनमैत्री व्यवहारको अभियान चलेकै बेला यस्तो गतिविधिले जनविश्वासमा असर पर्ने खतरा देखिएको छ। अब प्रहरीको उच्च तहबाट छानबिन र कारबाहीको अपेक्षा गरिएको छ।