Oplus_16777216

वीरगञ्ज, ३१ जेठ — नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीको पार्टी कार्यालय हाल पूर्व नगरप्रमुख विजय सरावगीको निजी निवासबाट सञ्चालन भइरहेको विषयले सामाजिक सञ्जाल र पार्टीभित्र तीव्र बहस निम्त्याएको छ।

हालै सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष नवराज शर्माको नेतृत्वमा गठन भएको कमिटी सरावगीको नियन्त्रणमा पुगेको भन्दै गम्भीर आरोप लागिरहेका छन्। पार्टी स्रोतका अनुसार अधिवेशनको समयमै सरावगीले आफ्ना उम्मेदवार निर्वाचित गराउन आर्थिक लगानी गरेका थिए, र त्यसकै फलस्वरूप अहिले पार्टी सञ्चालनमा निर्णायक प्रभाव जमाएका छन्।

बैठक पनि होटेलमा, छलफल र एजेन्डा बिना

महानगर कमिटीका सदस्यहरूका अनुसार हालै शनिबार बिहान ११:३० बजे पार्टी पदाधिकारीहरूको पूर्व छलफलबिना बैठक वीरगञ्जको ‘रोयल पार्टी प्यालेस’ मा बोलाइएको थियो। सदस्यहरूले आरोप लगाएका छन् कि पार्टीभित्र छलफल नगरी, सरावगीको निर्देशन अनुसार मात्रै बैठक बस्ने गरिएको छ।

स्रोतका अनुसार अध्यक्ष शर्माले सरावगी निवासमा नआउने नेताहरूसँग छलफल गर्न समेत छाडेका छन्। पार्टी कार्यालय स्थायी रूपमा सरावगीकै घरमा सञ्चालन भइरहेको छ, जसलाई ‘संगठन कब्जा’ को संकेतको रूपमा लिइएको छ।

‘पार्टी बराबर सरावगी’ मानसिकता?

बैठकहरूमा अध्यक्ष शर्माले “एमाले भनेकै सरावगी हो” भन्ने अभिव्यक्ति दिन थालेको एक सदस्यको दाबी छ। यस्ता कथनले पार्टीभित्र व्यक्तिवाद र नेतापूजाको वातावरण बनाउँदै लगेको भन्दै कार्यकर्ताहरू असन्तुष्ट छन्।

सामाजिक सञ्जालमा कुर्मीको व्यंग्यात्मक प्रहार

पूर्व उम्मेदवार तथा नेकपा एमाले नेता सुन्दर राउत कुर्मीले सामाजिक सञ्जालमा आलोचना गर्दै लेखेका छन् —
“तथाकथित पुँजीवादीको शरणमा पालिका कमिटी विलय गर्ने होडबाजीमा सिद्धान्तवादी र टिकट बाँड्ने बड्का नेता तल्लिन। केही घोडा अध्यक्ष हुनेहरू अघिपछि ‘अब का होई’।”

कुर्मीको पोस्टले विचार र व्यवहारबीचको विरोधाभासलाई औंल्याउँदै, सरावगीको प्रभावले कमिटी कब्जामा परेको पुष्ट्याउने संकेत दिएको देखिन्छ।

पार्टी नेतृत्व मौन

हालसम्म पार्टीका जिल्ला वा प्रदेश तहका नेताहरूले यो विषयमा कुनै आधिकारिक टिप्पणी गरेका छैनन्। यद्यपि, कार्यकर्ताहरूले आन्तरिक असन्तुष्टि सार्वजनिक गर्न थालेपछि पार्टी नेतृत्वले चाँडै धारणा स्पष्ट पार्नुपर्ने माग उठ्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय