
वीरगन्ज,१९ जेठ / पर्सा प्रहरीले विशेष सूचनाको आधारमा आईतबार १२ लाख हुण्डी रकम सहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका २ निवासी २५ बर्षीय सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहर निवासी १९ बर्षीय सत्यम कुमार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आईतबार अपरान्ह चौकी परवानीपुर पर्साबाट खटिएको टोलीले सवारी साधन नियमित चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो कालो १५० सिसिको पल्सर मोटरसाईकलमा उनीहरुलाई पक्राउ गरेको हो ।
पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका बर्णवालको साथबाट कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका सात लाख ७१ हजार र पाँच सय दरका नोट आठ सय ५८ थान अर्थात ४ लाख २९ हजार गरी १२ लाख बरामद भएको हो ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा अदालतबाट तीन दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरिक्षक लम्सालले बताए ।