वीरगन्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हाल कायम ३० वर्षे सेवा अवधिलाई हटाएर अवकाशमा जानका लागि उमेर र पदावधि मात्र रहने गरी कानुन बन्नेमा जुनियर प्रहरी अधिकारीहरुको गुनासो रहेको छ । नेपाल प्रहरीका जुनियर प्रहरी अधिकारीहरुका अनुसार नयाँ कानुनमा आन्तरिक रुपमा प्रहरीमा बढुवाका लागी ६० प्रतिशत बाट घटाएर ४० प्रतिशतमा झार्ने तयारीले जुनियर प्रहरी अधिकारीहरु समस्यामा पर्ने गुनासो गरेका हुन ।
प्रहरी ऐन अनुसार जुनियर प्रहरी अधिकारीहरुको हकमा कुनैपनि कार्यालयको ईन्चार्ज हुदाँ न्युनतम एक साल कार्यकाल अवधि राख्नुपर्ने वा सरुवा गर्नुृपर्नेमा जिल्ला प्रहरी कार्यालयको प्रमुखले प्रदेश कार्यालयमा लिखित कारण उल्लेख गरेर सरुवा गर्ने व्यवस्था राख्नु पर्ने उनीहरुको राय रहेको छ ।
०७१ साल भन्दा अगाडी आन्तरिकमा ६० र नयाँ भर्नामा ४० प्रतिशत बढुवा हुदै आएकोमा त्यही अनुसार लागु गर्न पाए प्रहरी संगठनमा आवद्ध रहेका जुनियर प्रहरी अधिकारीहरुको भविष्य सुनिश्चित हुने उनीहरुको बिश्वास छ । उनीहरुका अनुसार निजामति ऐनमा नयाँ भर्ना हुने कर्मचारीको हकमा ५१ प्रतिशत व्यवस्था रहेको छ । यस्तै आन्तरिक बढुवा ४९ प्रतिशत रहेको प्रहरी अधिकारीहरुले बताएका छन । जसका कारण नयाँ कानुन निर्माण भएको खण्डमा बहालवाला प्रहरी बरिष्ठ नायब निरिक्षकहरु मात्र समस्यामा पर्ने गुनासो गरेका छन ।
प्रहरी ऐनमा उल्लेख रहेको नियमावली अनुसार सकेसम्म ६० प्रतिशत आन्तरिक बढुवा र नयाँको हकमा ४० प्रतिशत लागु गराउन उनीहरुको जोड छ । प्रहरी संगठन अनुशासन भित्र बस्ने संगठन भएकोले प्रहरीहरुले आफ्नो दुखेसो बाहिर राख्न नपाउने कुराहरुको समस्या थप्दै गएको उनीहरुको जिकिर छ । साथै प्रहरी ऐन अनुसार प्रहरीहरुले जुनियर प्रहरी अधिकारी बस्ने (ख )ईलाका सम्मलाई अभद्र व्यवहार सम्मको मुद्धा चलाउने वा सिफारिस सम्म गर्न पाउने अधिकार ऐनमा समायोजन गर्न उनीहरुको माग छ ।
प्रहरीको नयाँ कानुनमा के हुदैछ ?
स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) को पदावधि ३ वर्ष र अवकाशका लागि उमेरहद ६० वर्ष कायम गरिने भएको छ । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) र नायब महानिरीक्षक (डीआईजी) को उमेरहद ५९ वर्ष तथा पदावधि एआईजीको ३ र डीआईजीको ५ वर्ष राख्न लागिएको छ । सशस्त्रमा भने महानिरीक्षकबाहेक बाँकी सबै अधिकृतको अवकाशको उमेर ५८ वर्ष रहनेछ ।
प्रहरीमा एसएसपीको उमेरहद ५८ वर्ष र पदावधि ८ वर्ष रहनेछ । नेपाल प्रहरीमा जवानदेखि एसपीसम्मै पदावधि भने रहने छैन । प्रधानमन्त्री ओलीलाई गराइएको ब्रिफिङपछि प्रहरी र सशस्त्रका जवानदेखि वरिष्ठ सईसम्मको उमेरहद ५४ वर्ष प्रस्ताव गरिएको छ ।
इन्स्पेक्टर र डीएसपीको ५७ वर्ष, एसपी र एसएसपीको ५८ वर्ष उमेरहद कायम राखिएको छ । हाल दुवै सुरक्षा निकायमा सिपाही, असई र निरीक्षकमा खुला प्रतिस्पर्धाबाट भर्ना गरिँदै आएकामा असईको साटो सईबाट भर्ना लिने प्रस्ताव गरिएको छ । अब असई आन्तरिकबाट बढुवा गर्ने प्रस्ताव छ । सईमा आन्तरिकबाट ४० र खुलाबाट ६० प्रतिशत जनशक्ति पदपूर्ति गरिनेछ ।
निरीक्षकमा खुला प्रतिस्पर्धाबाट ६० र आन्तरिकबाट ४० प्रतिशत पदपूर्ति गर्ने अहिलेको प्रावधानलाई नै यथावत् गरिएको छ । दुवै सुरक्षा निकायमा कार्यरत प्रहरी जवान र हवल्दारले १६ वर्ष तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष सेवा पूरा गरेमा पेन्सन पाउने गरी स्वैच्छिक अवकाशमा जान पाउने तर पेन्सन भने २० वर्ष पुगेपछि मात्र पाउने गरी पनि कानुन बन्नेछ । अहिले दुवै सुरक्षा निकायका कर्मचारीको पेन्सन २० वर्ष सेवा गरेपछि मात्र पाइन्छ ।