
नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा आज बिहान १० बजेबाट मतदान हुनेछ ।एमाले सचिव रघुवीर महासेठ समूहबाट भोला यादव र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट लक्ष्मीनारायण यादव जिल्ला अध्यक्षमा भिडेका छन् । दुवै केन्द्रीय नेताले प्यानल बनाएर चुनावी मैदानमा उम्मेदवार उतारेपछि कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
उम्मेदवारको विषयमा एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच विवादपछि कुटाकुट भएकाले वैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो ।निर्वाचन समितिले ६२८ जनालाई मतदाता कायम गरेको छ । विवादका कारण मतदाताका लागि नयाँ परिचयपत्र जारी गरिएको छ । मतदाताले स्वयंम भौतिक रूपमा उपस्थित भए मात्र परिचयपत्र दिने व्यवस्था गरेको छ । परिचयपत्र लिन मतदाताले नागरिकता, लाइसेन्स वा मतदाता परिचयपत्र अनिवार्य देखाउनुपर्छ ।
मतदाताहरू पनि दुई समूहमा विभाजित बनेका छन् । मंगलवारदेखि नै महासेठ र अरगरियाले आ–आफ्ना पक्षका मतदातालाई अलग अलग होटलमा राखेका हुन् । अरगरियाले आनन्द होटल र महासेठले शुभम होटलमा आ–आफ्ना पक्षका उम्मेदवारलाई राखेको बुझिएको छ ।वैशाख २३ मा कुटाकुट भएकाले मतदान स्थललाई संवेदनशील भन्दै आज सुरक्षा व्यवस्था कडा पारिएको छ । विहानैदेखि मतदान स्थल वरिपरि सयौँ सुरक्षाकर्मी तैनाथ छन् ।