दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् ।

मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

नेपाल पुलिस क्लबले पनि क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिस क्लबले सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ७–६ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पुलिस क्लबले वीरगञ्ज गोल्डकपमा पहिलो संस्करणमा जस्तै उत्कृष्ट खेल खेल्दै उपाधि उचाल्ने दाबी गरे । ‘हामीले पहिलो संस्करणको वीरगञ्ज गोल्डकपको उपाधि हात पारेका थियौं । यो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौं, उनले भने, ‘भोलिको खेलमा जित्ने रणनीतिसहित मैदानमा खरो उत्रिनेछौं ।’

मच्छिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठले पनि पछिल्ला दुई प्रतियोगिताको लगातार उपाधि मच्छिन्द्र क्लबले जितेकाले पनि वीरगञ्ज गोल्डकप पनि आफ्नो टिमले जित्ने गरी खेल पस्किने जानकारी दिए । ‘हामीले भोलिको फाइनल खेल सम्मानजनक खेल खेल्दै उपाधि रक्षा गर्ने रणनीति बनाएका छौं’, उनले भने, ‘हाम्रोतर्फबाट भोलिको खेल उत्कृष्ट खेल्नेछौं ।’

शुक्रबार नै दुवै टिमका कप्तानले दोस्रो वीरगञ्ज गोल्डकपको ट्रफी समेत सार्वजनिक गरेका थिए । प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय