काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको छ । यो वर्ष दशैंमा नयाँ नोट सटही गर्ने सुविधा नदिएको केन्द्रीय बैंकले सफा नोटमात्र साट्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।
‘बडा दशैंको शुभ अवसरमा २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्,’ राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई जारी गरेको निर्देशनमा छ ।
चाडपर्वका लागि अस्थायी रूपमा मात्रै एक दिनमा ३० पटक रकम जम्मा गर्न सक्ने व्यवस्था भएको हो । केन्द्रीय बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न खोजे पनि चालु आर्थिक वर्षका लागि सरकारले १५ जेठमा ल्याएको आर्थिक विधेयकबाट डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गर्यो । जसले डिजिटल भुक्तानी लागत बढेको छ ।
अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा लाग्ने शुल्कमा भ्याट लाग्दा १० रुपैयाँ शुल्क लाग्दै आएकोमा अब त्यसमा भ्याट जोडिएसँगै ११ रुपैयाँ ३० पैसा लाग्न थालेको छ ।
आर्थिक विधेयक मार्फत क्लियरिङ सेवामा भ्याट लाग्ने व्यवस्था भयो । त्यससँगै नेपाल क्लियरिङ हाउस र फोनपेले आफ्नो सेवामा १ साउनबाट भ्याट जोडेर लिन थालेसँगै अन्तरबैंक भुक्तानी मात्रै नभएर चेक क्लियरिङमा समेत भ्याट लाग्न थालेको छ ।
उक्त भ्याट वालेट र बैंक तथा वित्तीय संस्थाजस्ता सेवा प्रदायकले ग्राहकलाई ट्रान्सफर गर्दै आएका छन् । विद्युतीय वित्तीय कारोबारमा सेवाग्राहीको लागत बढाएको छ । डिजिटल भुक्तानीमा भ्याट लाग्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त शुल्क हटाउने बताएका थिए ।
प्रधानमन्त्री ओलीले भदौ अन्तिम साता सरकारले डिजिटल भुक्तानीमा लाग्ने भ्याट हटाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर, प्रधानमन्त्रीले घोषणा गरेको एक महिना पुग्नै लाग्दा समेत डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटेको छैन ।