
सफल खतिवडा
वीरगन्ज, ६ फागुन / जिल्ला प्रहरी कार्यालय पर्सामा हाल आएका प्रहरी प्रमुख गौतम मिश्रले अपराध अनुसन्धान र चोरी निकासीमा कडाई गर्ने सञ्चारकर्मीसँगको भेटघाटमा बताएका थिए ।
तर उनले सञ्चारकर्मीको माझ प्रतिबद्धता गरेको एक हप्ता नबित्दै जिल्ला प्रहरी कार्यालय पर्सा क्राईम शाखाका बरीष्ठ सई लोकेन्द्र पण्डितले पर्सा जिल्लाको विभिन्न नाकाबाट हुने तस्करीका लाईन सञ्चालनका लागि एसपी मिश्रको इसारामा ग्रिन सिग्नल दिएका छन् । यस प्रकारको तस्करी जस्ता अवैध गतिविधिले प्रहरी उपरीक्षक मिश्र र बरिष्ठ सई पण्डित बीच तालमेल भएको यसले पुष्टि गर्छ ।
पर्सा क्राईमले अहिले तस्करीको लाईन दिएपछि वीरगञ्ज महानगरपालिकाको इनर्वा गाउँ, मुख्य भन्सार, छपकैया, अलौ, कोनिया, अमरपट्टीबाट हुँदै झौवा, बर्वा, प्रसौनीभाठा त्यस्तै धोरे, सिक्टा भिस्वा, जानकीटोला नाकाबाट व्यापक तस्करी सुरु भएको हो ।
इनर्वा गाउँबाट महिला पोकेहरुको अटो रिक्सा सेटिङ्गमा भारतीय सटिङ्ग सुटिङ्गको कपडा, रेडिमेड कुर्ता सुरुवाल, थानको कपडाको तस्करी गरी वीरगन्जको ट्रान्सपोर्टहरुमा पुग्ने गरेको छ ।
यस्तै मुख्य भन्सार भएर अटो रिक्सा सेटिङ्गमा कपडा, हार्डवेयर, काजु किसमिसको तस्करी भईरहेको छ । त्यस्तै छपकैया नाकाबाट रातीको समयमा लचका घाटबाट कपडा, काजु किसमिस लगायतको समानहरुको मोटरसाईकल र अटोरिक्साको माध्यमबाट तस्करी भईरहेको छ ।
अलौ नाकाबाट खाद्यान्न, काजु किसमिस, कबाड लगायतको सामानहरुको तस्करी हुँदै आएको स्थानीयहरुले जनाएका छन् ।
यति मात्र होईन अमरपट्टी र झौवा नाकाबाट भारतीय कुखुराको चल्ला, माछा, भैसी र किराना समाग्रीको तस्करी भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय क्राईम शाखाका इन्चार्ज बरिष्ठ सई पण्डितले आफै यी विभिन्न नाकाहरुबाट अवैध कारोबार गर्ने तस्करहरुसँग क्राईम शाखाको पाँच नम्बर रुममा बोलाई महिनावारी रकमको मोलमोलाई गरी लाईन दिएको एकजना तस्करले नाम नछाप्ने शर्तमा बताए ।
बरिष्ठ सई पण्डितले जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका चौकी ईन्चार्जहरुको माध्यमबाट समेत तस्करहरु संग रकम असुल गरीरहेका छन् ।
यस सन्दर्भमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्ला भित्र अवैध रुपमा भईरहेको चोरी पैठारी नियन्त्रणमा ध्यान दिन जिल्ला मातहतका चौकीलाई स्पष्ट निर्देशन दिएको बताएका थिए ।