
सफल खतिवडा
वीरगन्ज, ६ फागुन : वडा प्रहरी कार्यालय श्रीपुरबाट खट्ने टाईगर टोलीमा कार्यरत प्रहरी सहायक हवल्दार मनोज दासले अलौ र ड्राईपोर्ट क्षेत्रमा आर्थिक ताण्डव मच्चाएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको एरिया भित्र अवैध गतिविधि भन्सार छली गर्ने तस्करहरु संग हाकाहाकी रकम माग गर्ने गरेका छन् ।
सहायक हवल्दार दासले वीरगंज महानगरपालिकाको ड्राईपोर्ट, अलौ र कोनियाको सिमावर्ती नाकाबाट भन्सार छली गर्ने कारोबारीहरु संग महिनावारी लिएर सहयोग गरिरहेको पाईएको छ । वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार मनोज दासको दरवन्दी ओखलढुङा जिल्लामा रहेपनि उनी अहिले काजमा श्रीपुरमा खटिरहेका छन् ।
तस्करहरुले अलौ नाकाबाट भारतीय कपडा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा , हार्डवेयरको सामान, खाद्यान्य, काजु किसमिस लगायतका सामान भन्सार छलि गरी सिमानाकामा खटेका प्रहरीहरुको मिलेमतोमा नेपाल तर्फ भित्रियाईरहेका छन् । अलौ नाका भएर आफनो जिविको पार्जनका लागी, साईकल मोटरसाईकलमा किराना सामान ल्याउने खुद्रा व्यापारीहरु संग पनि धाक धम्की डर धाक देखाएर महिनाको २ हजार देखी ३ हजार सम्म लिने गरेको एकजना किराना व्यापारीले गुनासो गरेका छन् ।
अलौनाका भएर एक दर्जन साना व्यापारीहरु काम गर्ने गरेका छन् र ती सबै व्यापारीहरु संग दासले महिनावारी लिने गरेका छन् । महिनावारी नदिने कारोबारीको सामान समातेर जिल्ला बुझाउने गरेको ती व्यापारीले बताए । यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक श्याम कुमार बस्नेत संग बुझदा उहाले गलत गर्ने प्रहरीलाई कार्यवाही गर्ने बताउनु भयो ।