जलवायु परिवर्तनका बारेमा बुझ्नु पूर्व मौसम र जलवायुको शाब्दिक अर्थ बुझ्नु आवश्यक छ । छोटो समय (एक दिन, एक हप्ता तथा तीन महिना) मा हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई मौसम भनिन्छ भने लामो समयमा (३০ वर्षभन्दा बढी) हुने वायुमण्डलको तापक्रम, वर्षा तथा हावाको गतिको अवस्थालाई जलवायु भनिन्छ । मौसम क्षणिक समयका लागि हुन्छ र यसमा उतारचढाव अर्थात फेरबदल आउन सामान्य मानिन्छ। जलवायुलाई साधारण अर्थमा हावापानी पनि भनिन्छ,यो लामो समयका लागि हुन्छ जसलाई मौसमको औसत अवस्थाका रूपमा हेर्ने गरिन्छ । जलवायुमा फेरबदल आउनु जीव तथा प्राकृतिक प्रणालीका लागि असामान्य हुन सक्छ । पृथ्वीमा हरितगृह ग्यासको मात्रा वृद्धि हुदै जाँदा पृथ्वीको सतहमा ठोक्किएर वायुमण्डलमा फर्कने तापको बढी अंशलाई हरितगृह ग्याँसहरूले बढी मात्रामा सोसेर पृथ्वी तिरै फर्काइ दिन्छ त्यसबाट पृथ्वीको तापक्रम द्रुत गतिमा बढ्दछ । यसरी तापक्रम बढेर पृथ्वी तातो हुने प्रक्रियालाई विश्व-उष्णीकरण भनिन्छ। यसले गर्दा जलवायुमा परिवर्तन आउँदछ । समयको गतिसँगै हामीले अनुभव गर्दै आएको जलवायु तथा यसलाई जनाउने तत्त्वहरू जस्तैः तापक्रम,वर्षा, तथा हावाको गतिको औसत मानमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनको असर केवल नेपालमा मात्र नभई सम्पूर्ण विश्वभर देख्न सकिन्छ । यद्यपि जलवायु परिवर्तनको प्रभाव हरेक क्षेत्रमा देखिन्छ, नेपालमा भने यसको ठूलो प्रभाव कृषि क्षेत्रमा देखिएको छ, किनभने देशको ६०% भन्दा बढी जनसंख्या प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कृषि क्षेत्रमा निर्भर छन । १९५० को दशकमा देशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब ७०% थियो, तर हाल यो घटेर करिब २५% मा झरेको छ।
जलवायु परिवर्तनले निम्न तवरबाट कृषि क्षेत्रलाई प्रभावित पारिरहेको छ :-
१. बाली उत्पादनमा कमी
बालीनालीमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ। कतै-कतै सुख्खा हुने अवस्था छ भने माटोको उर्वर क्षमता पनि घटिरहेको छ। एक अनुसन्धानका अनुसार, यदि वातावरणको औसत तापक्रम १ डिग्री सेल्सियसले बढ्छ भने यसले गहुँ उत्पादनमा १७% सम्म कमी आउन सक्छ। केही अध्यन अनुसार, जलवायु परिवर्तनले कृषि उत्पादनलाई हरेक वर्ष लगभग ४-९% को दरले प्रभावित गरिरहेको छ।
२. बढ्दो औसत तापक्रम
गहुँ, तोरी, जौ र आलुजस्ता बालीहरूलाई कम तापक्रम आवश्यक पर्छ, तर औद्योगिकीकरणको सुरुवातदेखि हालसम्म पृथ्वीको तापक्रम ०.७ डिग्री सेल्सियसले बढिसकेको छ। यसलाई थप बढ्न नदिनु वा अत्यन्तै न्यून राख्ने प्रयास गर्न आवश्यक छ।
३. वर्षाको ढाँचा परिवर्तन
वर्षाको ढाँचामा केवल नेपालमा मात्र होइन, विश्वभर नै परिवर्तन देखिएको छ। कहिलेकाहीँ असोजको सुरुवातमै यति धेरै वर्षा हुन्छ कि किसानले बालीको कटानी समेत गर्न सक्दैनन् र ती बालीहरू पानीमा डुब्छन्। केही वर्ष पहिला जेष्ठ महिनामा प्रि-मनसुन वर्षा हुन्थ्यो, त्यो अब भइरहेको छैन। हाम्रो देशको कृषि क्षेत्रको ठूलो भाग वर्षा माथि निर्भर छ। यस्तोमा वर्षाको ढाँचा परिवर्तन हुँदा बालीनालीमा प्रभाव परिरहेको छ। विशेष गरी धान र उखु जस्ता धेरै पानी आवश्यक पर्ने बालीहरूमा नराम्रो असर देखिएको छ।
४. कार्बन डाइअक्साइडमा वृद्धि
ग्रीनहाउस ग्याँसहरूमध्ये सबैभन्दा खतरनाक कार्बन डाइअक्साइड हो र यो जलवायु परिवर्तनको एक प्रमुख कारण हो जसले तापक्रम बढाइरहेको छ। सबै बोटबिरुवाले धेरै कार्बन डाइअक्साइड सहन सक्दैनन्।
५. रोग किराको प्रकोपमा वृद्धि
जलवायु परिवर्तनका कारण रोग किराहरूमा पनि वृद्धि भएको देखिएको छ। रोग बढ्दै जाँदा तिनलाई नियन्त्रण गर्न बढी रसायनहरूको प्रयोग गर्नुपर्छ, जसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ।
६. माटोको गुणस्तरमा परिवर्तन
जलवायु परिवर्तनको कारण तापमान बढ्दा माटोको चिस्यनको स्तर घट्न सक्छ र माटोको उत्पादन क्षमता घट्न सक्छ। यसले माटोको संरचना र पोषक तत्वहरूको उपस्थिति प्रभाव पार्न सक्छ।
७. सिंचाइको मात्रा बढ्नु
जलवायु परिवर्तनको कारण तापमानको वृद्धिले माटोको चिस्यानलाई तीव्र रुपमा वाष्पित गर्छ, जसले सिंचाइको आवश्यकता बढाउँछ। यसले कृषकहरूलाई बढी पानी प्रयोग गर्न बाध्य पार्छ।
अतः कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्नका लागि थुप्रै किसिमका रणनीतिहरू अपनाउनु अत्यन्त महत्त्वपूर्ण छ। यसको लागि कृषकहरूले जलवायु अनुकूलन गर्ने प्रभावकारी उपायहरू अपनाउनु पर्छ जस्तै:- आधुनिक सिंचाइ प्रविधिहरूको प्रयोग, जैविक खेतीको प्रवर्धन र माटोको संरचना सुधार्ने उपायहरू। सिंचाइमा पानीको बचत गर्ने प्रविधिहरू जस्तै: थोपा सिंचाईको प्रयोग गरेर पानीको खपत घटाउन सकिन्छ। साथै बालीहरूको विविधता र अनुकूलता बढाउन विभिन्न प्रकारका बालीहरूको प्रयोग गर्दा मौसमका परिवर्तनसँग जुझ्न सजिलो हुन्छ। कृषकहरूलाई जलवायु परिवर्तनको प्रभाव र अनुकूलन उपायहरूका बारेमा सचेत गर्न तालिम र प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्न जरुरी छ। सरकार र कृषि निकायहरूले उपयुक्त नीतिहरू र योजना बनाएर कृषकलाई जलवायु परिवर्तनसँग जुध्नमा सहयोग पुर्याउन सक्छन्।
लेखक इस्तखार अंसारी सुदुर पश्चिमाञ्चल विश्वविद्यालय टीकापुर- कैलालीमा कृषि विज्ञान संकाय तर्फ कृषि स्नातक गर्दैछन ।
