वीरगन्ज महानगरपालिका मधेश प्रदेशको एक मात्र महानगर हो । राष्ट्रिय जनगणना २०७८ को जनसांख्यिक प्रतिवेदनअनुसार वीरगञ्ज महानगरपालिकाका कुल ४७ हजार ११४ घरपरिवारमध्ये १०.२ प्रतिशत घरपरिवारहरूमा अहिलेसम्म आफ्नो शौचालय नभएको देखाएको छ ।
सोही प्रतिवेदनअनुसार महानगरका कुल घरपरिवारमध्ये ८९.८ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालय प्रयोग गरिरहेका छन् । तथ्याङ्क समन्वय कार्यालय, पर्साका तथ्याङ्क अधिकृत राजेश दासका अनुसार महानगरपालिकामा सार्वजनिक ढल तथा सेप्टिक ट्यांकमा फ्लस सुविधायुक्त शौचालय भएका कुल घरपरिवार ६१.५ प्रतिशत रहेको छ ।
यस्तै, साधारण शौचालय प्रयोग गर्ने घरपरिवारको अंश २७.५ प्रतिशत रहेको छ भने महानगरपालिकामा सार्वजनिक शौचालय प्रयोग गर्ने घरपरिवार ०.७ प्रतिशत मात्र रहेको तथ्याङ्कले देखाएको उनले बताए । गत जनगणनामा २०६८ मा शौचालयमा पहुँच नभएको परिवार ३६.४ प्रतिशत रहेको थियो भने ५०.३ प्रतिशतले परिवारले फ्लस भएको र ११.९ प्रतिशतले साधारण शौचालय प्रयोग गरेको तथ्याङ्कमा उल्लेख छ ।

महानगरको कुन–कुन वडामा कस्तो छ शौचालयको अवस्था ?
तथ्याङ्क अधिकृत दासका अनुसार फ्लस सुविधा (जुनसुकै प्रकारको) भएको शौचालय प्रयोग गर्ने घरपरिवार महानगरको माथिल्लो क्रमका ३ वटा वडाहरूमा वडा नम्बर ४ मा ९८.७ प्रतिशत, वडा नम्बर १४ मा ९०.८ प्रतिशत र वडा नम्बर ३ मा ८८.४ प्रतिशत रहेका छन् । यस्तो शौचालय सुविधा न्यून हुने महानगरपालिकाको तीनवटा वडाहरू रहेको तथ्याङ्कमा उल्लेख छ । महानगरको वडा नम्बर २७ मा २५.७ प्रतिशत, वडा नम्बर ३२ मा २३.७ प्रतिशत र वडा नम्बमा १७ मा १९.४ प्रतिशत रहेको अवस्था छ ।
शौचालय नै नभएका घरपरिवारहरूको आधारमा वीरगञ्ज महानगरपालिकाको वडाहरूको तथ्याङ्क हेर्दा तीनवटा वडाहरूको स्थिति हेर्दा माथिल्लो क्रममा रहेका वडाहरू क्रमशः वडा नम्बर २९ मा ४५.८ प्रतिशत, वडा नम्बर २७ मा ३६.१ प्रतिशत र वडा नम्बर २२ मा ३१.२ प्रतिशत रहेका तथ्याङ्क अधिकृत दासले बताए ।

पर्सा कहिले भयो खुला दिसामुक्त क्षेत्र घोषणा ?
जानकारहरूका अनुसार ०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरू भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन गरेको थियो ।
नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिको भनाइ थियो । सरकारले यो भनाइ राखे पनि विभिन्न जिल्लामा भएको घोषणामा गैर–सरकारी संस्थाहरूको पनि सहभागिता थियो ।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले २०७६ भदौ २८ गते पर्सा जिल्लालाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरे । खुला दिसामुक्त घोषणाका लागि जिल्ला खानेपानी तथा सरसफाई स्वच्छ समन्वय समितिले नगर सभागृहमा कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय