मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा अवैध हुण्डी कारोबार गरेको आरोपमा १४ जना पक्राउ परेका छन्। आठ जिल्ला रहेको मधेश प्रदेशमा चालू आर्थिक वर्षको कात्तिक महिनासम्म १४ जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट अवैध ९८ लाख २६ हजार ६९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकअनुसार अवैध हुण्डी कारोबारमा पक्राउ परेकाहरूमध्ये नाैजनामाथि मुद्दा दर्ता भएको छ। सबैभन्दा बढी सिराहामा चारजना पक्राउ परेकोमा दुईजनाविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूको साथबाट ३० लाख १९ हजार ८९० रुपैयाँ बरामद भएको छ।
यस्तै, धनुषा र महोत्तरीमा तीन–तीनजना पक्राउ परेका मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए। धनुषामा पक्राउ परेकाहरूको साथबाट १९ लाख रुपैयाँ बरामद भएको छ भने महोत्तरीमा पक्राउ परेकाहरूबाट २९ लाख ८६ हजार आठ सय रुपैयाँ बरामद भएको छ। त्यसमध्ये धनुषामा एकजना र महोत्तरीमा तीनजनामाथि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बोहराले बताए।
यस्तै, रौतहट र बारामा दुई–दुईजना पक्राउ परेका छन्। रौतहटमा पक्राउ परेकाहरूको साथबाट नौ लाख र बारामा पक्राउ परेकाहरूको साथबाट १० लाख २० हजार रुपैयाँ बरामद भएको छ। रौतहटमा पक्राउ परेका दुईजना र बाराका एकजनामाथि मुद्दा दर्ता भएको छ। प्रहरी तथ्यांकअनुसार मधेश प्रदेशको सर्लाही, सप्तरी र पर्सा जिल्लामा अहिलेसम्म हुण्डी कारोबारको आरोपमा एकजना पनि पक्राउ परेका छैनन्।
प्रहरी उपरीक्षक बोहराका अनुसार हुण्डी कारोबारमा पक्राउ परेका केहीलाई पक्राउ परेको रकमसहित भन्सार कार्यालयमा पनि पठाउने गरिएको छ।
यसअघि गत आव ०८०/८१ मा अवैध हुण्डी कारोबारमा प्रदेशमा २७ जना पक्राउ परेका थिए। जसमध्ये १५ जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेकाहरूको साथबाट एक करोड २६ लाख १५ हजार सात सय रुपैयाँ बरामद भएको थियो। जसमा भारतीय रकम ९८ हजार मात्र बरामद भएको थियो।Source:Nayapatrikadaily.com