मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा २५३ वटा मोटरसाइकल चोरी भएका छन्। आठ जिल्ला रहेको मधेश प्रदेशमा गत कात्तिक २८ गतेसम्म चोरी भएका मोटरसाइकलमध्ये ४९ वटा मात्र फेला परेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सो अवधिमा मोटरसाइकल चोरी गरेको आरोपमा ७८ जना पक्राउ परेका छन्। प्रदेशभर मोटरसाइकल चोरीमा संलग्न भएकाहरूविरुद्ध ५५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षको चार महिनामा हराएका मोटरसाइकलमध्ये फेला पारेर अभियुक्तमाथि मुद्दा दर्ता गरी कारबाही गरिएको हो।

प्रहरी तथ्यांकअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी धनुषामा ९५ वटा मोटरसाइकल हराएकामा १४ वटा फेला परेका छन्। धनुषाबाट १६ जनालाई पक्राउ गरेर ९ जनामाथि मुद्दा दर्ता भएको छ।

यस्तै, पर्सामा ८१ वटा मोटरसाइकल चोरी हुँदा १४ वटा फेला परका छन् भने १६ जनालाई पक्राउ गरेर ९ जनामाथि मुद्दा दर्ता भएको छ। रौतहटमा १९ वटा मोटरसाइकल चोरी हुँदा ३ वटा फेला परेका छन्। चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका तीनजना माथि मुद्दा दर्ता गरिएको छ।

यसैगरी, सर्लाहीमा १४ वटा चोरी भएकामा चारवटा मोटरसाइकल फेला परेका छन्। चोरीको आरोपमा पाँचजना पक्राउ पर्दा चारजना माथि मुद्दा दर्ता भएको बोहराले जानकारी दिए। बारामा १३ वटा मोटरसाइकल चोरी हुँदा ४ वटा फेला परेका छन्। ६ जना पक्राउ भएकोमा पाँचजना माथि प्रहरीले मुद्दा चलाएको छ।

सिराहामा ११ वटा मोटरसाइकल चोरी हुँदा ६ वटा फेला परे। चोरीको आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा दर्ता भएको अवस्था छ। उता सप्तरीमा ११ वटा मोटरसाइकल चोरी हुँदा पाँचवटा फेला परेका छन् भने पक्राउ परेका नाैमध्ये पाँचजना माथि मुद्दा दर्ता भएको छ। सोही अवधिमा महोत्तरीमा नाैवटा मोटरसाइकल चोरी हुँदा १७ जना पक्राउ परे। जसमध्ये १३ जनामाथि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बोहराले बताए।

मधेश प्रदेशमा गत आर्थिक वर्ष ०८०/८१ मा ७६९ मोटरसाइकल चोरी भएको प्रहरी तथ्यांकले देखाएको छ। सोमध्ये १८२ वटा मात्र फेला परेका थिए। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मोटरसाइकल चोरीको आरोपमा १८७ जना पक्राउ पर्दा १२६ जनामाथि मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको थियो।

अधिकांश चोरीका घटना ठुला सहरमा
भारतसँग सीमानजिक रहेको मधेश प्रदेशका ठुला सहर र जिल्लामा अधिकांश मोटरसाइकल चोरीका घटना भएकाे प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरी उपरीक्षक बोहराका अनुसार प्रदेशका ठुला सहरबाट अधिकांश मोटरसाइकल पार्किङ गरेकै अवस्थामा हराउने गरेकाे देखिएको छ।

सहरमा कार्यालय वा सडकमा जथाभावी पार्किङ गरिएका मात्र होइन, सुरक्षित स्थानमा राखिएका ठाउँबाट समेत मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चोरीमा पक्राउ परेकामध्ये अधिकांश व्यक्ति ग्यारेजमा काम गरेका तथा कतिपय कुलतमा लागेका र बारम्बार चोरी कार्यमै संलग्न व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।Source:Nayapatrikadaily.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय