वीरगन्ज / वीरगन्जबाट ठूलो परिमाणमा लागू औषध चरेस सहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४, हरिहरपुर निवासी २९ वर्षीय मकसुद अन्सारी, भारत विहारको आदापुर–९ निवासी २९ वर्षीय मुकेश कुमार र सिम्रौनगढकै २० वर्षीय रामलाल सहनी रहेका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–१५ भिस्वा होटल अगाडिको ४० फिटे सडक खण्डमा प्रहरीले लागू औषध खरिद बिक्री भइरहेको सूचनाका आधारमा तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले ना.१५प ११५६ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई खनतलासी गर्दा २२ किलो ५ सय ग्राम चरेस बरामद भएको हो ।
प्रहरी नायव उपरीक्षक भारतीका अनुसार उनीहरूले बोकेको कालो ब्याग र सेतो प्लास्टिकको बोराबाट ४५ प्याकेट ५०० ग्रामका दरले साढे २२ किलो चरेस फेला परेको हो । उनीहरूविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।