काठमाडौं- घट्दो तापक्रम र डेंगु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेंगु संक्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले तथ्यांकले डेंगु संक्रमणको ट्रेन्ड घट्दै गएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि डेंगु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।

दाहालले विगतका वर्षको भन्दा अहिले संक्रमण दर घटेको बताए । ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्यांकअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार २८६ जनामा डेंगु संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौंमा चार हजार ८०३, तनहुँमा दुई हजार ३७३ , पर्वतमा एक हजार ७४९, ललितपुरमा एक हजार २४१, बाग्लुङमा एक हजार २००, चितवनमा एक हजार १७५, भक्तपुरमा एक हजार ३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

डेंगुबाट मृत्यु हुनेको संख्या भने हाल १२ छ भने ७६ जिल्लामा संक्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेंगुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।

नोभेम्बर ५ को तथ्यांक तुलना गर्ने हो भने समष्टिगत रुपमा चार दिनमा देशभर एक हजार २४९ मा डेंगु संक्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्यांक हेर्दा कम हो ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय