घरेलु टोली अमेरिकालाई लगातार दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा हराउँदै नेपालले शृंखला जितेको छ । अब, अन्तिम खेल सोमबार हुनेछ । एक खेल बाँकी रहँदा शृंखलामा नेपाल २–० ले अघि रह्यो ।

आइतबार बिहान अमेरिकाको डालासमा नेपालले घरेलु टोलीलाई सुपर ओभरमा पराजित गरेको हो । निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा नेपालले तीन रनको लक्ष्य पायो ।

सोमपाल कामीले लगातार दुई विकेट लिएपछि नेपाल सहज अवस्थामा पुगेको थियो । क्रिजमा पुगेका कप्तान रोहितकुमार पौडेलले दुई तथा कुशल भुर्तेलले एक रन जोड्दै नेपालको जित तय गरेका हुन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दियो । प्रत्युत्तरमा अमेरिकाले सात विकेट गुमाएर १७० रन नै बनाएपछि खेल बराबरी भएको थियो ।

अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरेका थिए । नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई रह्यो ।

त्यसअघि नेपालका लागि तेस्रो नम्बर क्रिज पुगेका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाएका थिए । ओपनर अनिलकुमार शाहले २५ तथा गुल्सन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय