नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको माग गर्दै पर्सामा संघर्ष समिति गठन गरिएको छ । महासंघ पर्सा शाखाले विधान तथा योग्यता विपरीत सदस्यता वितरण गरेको आरोप लगाउँदै सदस्यता शुद्धीकरण प्रक्रियालाई प्रभावकारी बनाउन दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गरिएको जनाइएको छ ।
हालै बसेको छलफल तथा निर्णय बैठकले २०७२ सालदेखि पर्सा शाखाले निर्धारण गरेको मापदण्डअनुसार सदस्यता शुद्धीकरण कार्यलाई निरन्तरता दिन वर्तमान कार्यसमितिलाई दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।
बैठकले अनुप तिवारी को संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । समितिको सह–संयोजकमा शेखर छतकुल्ली रहेका छन् । त्यसैगरी सदस्यहरूमा लाल किशोर सिंह, बिरेन्द्र साहे (हिटलर), आशिक अंसारी, आर. सी. यादव, धर्मेन्द्र चौरसिया, ज्यासु मिया देवनानी, नरेश यादव, पन्नालाल साह, कृष्णा कुशवाहा, रजिन्द्र सिंह, संतोष पटेल, ज्योतिलाल पंडित तथा चिरञ्जीवि यादव रहेका छन् ।
बैठकमा सदस्यता शुद्धीकरणको विषयमा थप छलफल गर्दै संघर्ष समितिको तर्फबाट सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, पत्राचार गर्ने तथा निश्चित समयसीमा तोकेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।
