वीरगंज, २७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको समर्थन र विश्वास दिनप्रतिदिन बलियो बन्दै गएको देखिएको छ। घरदैलो अभियान, वडा स्तरीय भेला तथा प्रत्यक्ष जनसंवादमार्फत यादवले उठाएका जनसरोकारका मुद्दाले स्थानीय मतदातालाई आकर्षित गरेको छ।

मंगलबार वीरगंज–१ छपकैयामा आयोजित वडा स्तरीय भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले महिला, युवा र सम्पूर्ण जनसमुदायको सक्रिय सहभागिताबिनासम्म पर्साको दिगो विकास सम्भव नहुने बताइन्। उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषिजन्य विकास तथा सामाजिक सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेकी छन्।

युवालाई राजनीति र समाज निर्माणमा सक्रिय बनाउनु आवश्यक रहेको उल्लेख गर्दै यादवले महिलाले आफ्ना आवाज र सहभागिताबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने स्पष्ट पारिन्। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने एमालेको सिद्धान्तअनुसार आफू जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता उनले दोहोर्‍याइन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न मतदातासमक्ष आग्रह पनि गरिन्।

स्थानीयका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता एमालेका मूल एजेन्डालाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै निरन्तर जनतामाझ उपस्थित भइरहेकाले रिमा यादवप्रति भरोसा थप मजबुत बन्दै गएको हो। उनका भनाइ केवल चुनावी भाषणमा सीमित नरही समाधानमुखी देखिएकाले मतदातामा नयाँ आशा पलाएको स्थानीयहरूको भनाइ छ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, युवा नेता मुकेश द्विवेदी लगायतका नेताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। सो अवसरमा विभिन्न दल परित्याग गरी सयौं जना एमालेमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई प्रमुख अतिथि विजय सरावगी, उपाध्यक्ष बिचारी यादव तथा उम्मेदवार रिमा यादवले फूलमाला लगाएर पार्टीमा स्वागत गरे। नेताहरूले पार्टीको मूल्य, मान्यता र सिद्धान्तअनुसार जनताको सेवामा लाग्न उनीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रममा सहभागी मतदाताहरूले उम्मेदवार यादवको स्पष्ट योजना, जनमुखी सोच तथा युवा–महिला सशक्तिकरणप्रतिको दृष्टिकोणले आफ्नो विश्वास अझ दृढ भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको सहजीकरण वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अलीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय