नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले आज पर्सागढी नगरपालिकाको वडा नम्बर–३ झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेकी छन्। घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार यादवलाई भव्य स्वागत गर्दै उत्साहका साथ समर्थन जनाएका थिए। विशेषगरी जेन्जी उमेर समूहका युवाहरूले युवा उम्मेदवार यादवप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै परिवर्तनको पक्षमा उभिएको सन्देश दिएका थिए।

मतदातासँगको प्रत्यक्ष संवादमा उम्मेदवार यादवले आफू राजनीतिमा नयाँ भए पनि समयको माग र युवापुस्ताको चाहनाअनुसार चुनावी मैदानमा उत्रिएको बताइन्। उनले देशले अब नयाँ सोच, नयाँ ऊर्जा र व्यवहारिक नेतृत्व खोजिरहेको उल्लेख गर्दै त्यसै परिवर्तनको अभियानका रूपमा आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन्। “जेन्जी युवाको आवाजलाई सदनसम्म पुर्याउनु र उनीहरूको चाहनाअनुसार नीति निर्माणमा भूमिका खेल्नु मेरो प्राथमिकता हुनेछ,” यादवले भनिन्। उनले रोजगारी सिर्जना, शिक्षा र सीप विकास, प्रविधिमैत्री नीति तथा युवामैत्री विकास कार्यक्रममार्फत नयाँ पुस्तालाई अवसर दिने प्रतिबद्धता व्यक्त गरिन्। यादवले एमालेको संगठनात्मक शक्ति र अनुभवलाई युवाको जोशसँग जोडेर विकास र स्थायित्व दुवै सुनिश्चित गर्ने दाबी गरिन्। उनले स्थानीय स्तरका समस्या समाधानमा जनताको सुझावलाई केन्द्रमा राखेर काम गर्ने र जनप्रतिनिधिका रूपमा जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाइन्। घरदैलो कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरू, महिला कार्यकर्ताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उम्मेदवार यादवले आगामी दिनमा निर्वाचन क्षेत्रका अन्य वडाहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिँदै जनताको मत जित्ने अभियानलाई थप सशक्त बनाउने जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय