वीरगञ्ज, १३ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी अभियानलाई थप तीव्र बनाएको छ। घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रममार्फत एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेकी छन्।

गाउँ–टोलमा पुगेर मतदातासँग संवाद गर्दै उम्मेदवार यादवले एमालेको राष्ट्रिय नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई व्यवहारमा उतार्न पार्टीलाई जनसमर्थन आवश्यक रहेको बताइन्। उनले विकास, राजनीतिक स्थायित्व र समावेशी समृद्धिका लागि एमाले नै भरोसायोग्य शक्ति भएको दाबी गरिन्।

जेन–जी अर्थात् युवा पुस्ताको बढ्दो अपेक्षा र भावनालाई सम्बोधन गर्दै यादवले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र आधुनिक पूर्वाधार विकास एमालेको प्राथमिक एजेन्डा रहेको उल्लेख गरिन्। “युवाले खोजेको अवसर, स्थायित्व र भविष्यको सुनिश्चितता एमालेले मात्रै दिन सक्छ,” उनले भनिन्।

उनले निर्वाचनमार्फत जनताले दिने मत नै देशको दिशा तय गर्ने निर्णायक शक्ति भएको उल्लेख गर्दै पर्सा–२ का मतदाताले सही निर्णय लिनेमा आफू विश्वस्त रहेको बताइन्। यादवले पर्सा–२ मा एमालेको संगठनात्मक सुदृढता, कार्यकर्ताबीचको एकता र बढ्दो जनसमर्थनका कारण पार्टीको जित सुनिश्चित रहेको दाबी गरिन्।

पार्टीभित्रको एकता नै आफ्नो मुख्य शक्ति भएको बताउँदै उनले पछिल्लो समय एमालेप्रति जनआकर्षण उल्लेखनीय रूपमा बढेको दाबी गरिन्। प्रभावशाली नेताहरूको पार्टी प्रवेश, संगठन विस्तार र सक्रिय जनसम्पर्कका कारण पर्सा–२ को चुनावी वातावरण एमालेको पक्षमा उन्मुख हुँदै गएको उनको भनाइ छ।

यादवका अनुसार पछिल्ला दिनमा एमालेले सञ्चालन गरिरहेको घरदैलो अभियान, भेटघाट र संगठनात्मक गतिविधिले कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको छ। उनले निर्वाचित भएपछि विकास, रोजगारी, पूर्वाधार निर्माण र सामाजिक सेवाका क्षेत्रमा ठोस र परिणाममुखी योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यसैबीच, स्थानीय राजनीतिक विश्लेषकहरू पर्सा–२ मा यसपटकको चुनावी प्रतिस्पर्धा कडा र बहुआयामिक हुने आँकलन गर्छन्। प्रमुख दलहरू आ–आफ्ना एजेन्डा, रणनीति र संगठनात्मक शक्तिसहित मैदानमा उत्रिँदा चुनावी माहोल थप तातिँदै गएको उनीहरूको भनाइ छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा–२ मा दलगत गतिविधि, मतदाता संवाद र राजनीतिक बहस तीव्र बन्दै गएको देखिन्छ। यस्तो अवस्थामा एमालेको आक्रामक घरदैलो अभियानले चुनावी परिणाममा कस्तो प्रभाव पार्ने हो भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय