नेकपा एमाले पर्साको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय बैठक शुक्रबार सम्पन्न भएको छ ।
पार्टी कार्यालय मनमोहन नगरमा बसेको बैठकले आगामी निर्वाचनमा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन संगठित रूपमा अघि बढ्ने निर्णय गरेको छ ।
बैठकले उम्मेदवार यादवको पक्षमा जनमत सृजना गर्न सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवारीसाथ परिचालन हुने निष्कर्ष निकालेको छ ।
सहभागी नेताहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै घरदैलो अभियान, मतदाता भेटघाट तथा प्रचार–प्रसारलाई तीव्र बनाउने विषयमा बैठकमा छलफल गरेका थिए ।
बैठकमा पार्टीका पर्सा इन्चार्ज तथा केन्द्रीय सदस्य प्रभु हजराले क्षेत्र नम्बर २ मा एमालेको आधार बलियो छ । सबै कार्यकर्ता एकताबद्ध भएर लागेमा उम्मेदवार रिमा कुमारी यादवको जित सुनिश्चित हुन्छ ।
मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले निर्वाचन जित्न संगठनात्मक अनुशासन र निरन्तर जनसम्पर्क आवश्यक रहेको बताए ।
यस्तै अबको केही दिन कार्यकर्ताका लागि निर्णायक हुन्छ, हरेक टोल–टोलमा एमालेको सन्देश पुर्याउनुपर्ने केन्द्रीय सदस्य विजय सरावगीले बताए ।
बैठकमा केन्द्रीय सदस्य निर्मला देवकोटा,पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास, क्षेत्र नम्बर २ का अध्यक्ष मनोज कुशवाहा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
