वीरगञ्ज, ४ माघ : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीति दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् ।

माघ ६ मा मनोनयन दर्ता हुने भएकाले पर्साबाट नेपाली काँग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल सहितका दलहरुले क्षेत्र नम्बर १ का उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

नेपाली काँग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट क्षेत्रीय समितिले संविधानसभा सदस्य अनिल रुङटालाई यसपटक पनि उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्रीले जानकारी गराएका छन् ।

क्षेत्रीका अनुसार नेपाली काँग्रेसका केन्द्रिय सदस्य रुंगटा पर्सा १ नम्बर क्षेत्रबाट लड्ने निश्चित हो, उहाँको एक्कल नाम सिफारिस भएको छ, यसमा ढुक्क हुन आम कार्यकर्तालाई जानकारी गराइसकेको अवस्था छ ।

रुंगटा दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भएका थिए ०७४ को निर्वाचनमा उनी प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दा उनी तत्कालिन समाजवादी पार्टीका नेता प्रदिप यादवसँग पराजित भएका थिए ।

यस्तै ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसबाट टिकट नपाएर बागी निर्वाचनमा होमिएका नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी यसपटक पनि लड्ने तयारी गरेका छन् ।

यसअघि पर्सा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएपछि द्विवेदीलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो । केही साता अगाडी काँग्रेसको कारवाहीबाट फुकुवामा परेका उनले यो निर्वाचनमा अन्य दलबाट उम्मेदवार बन्ने जिल्लामा चर्चा हुन थालेको अवस्था छ । द्विवेदी पनि यादवसँग ०७९ सालको निर्वाचनमा १ हजार ६ सय ४४ मतान्तरले पराजित भएका थिए ।

यता नेकपा एमाले पर्साले पनि आफ्नो उम्मेदवारको टुंगो लगाइसकेको छ । । जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले एमालेले उम्मेदवारको नाम जिल्लाबाट सिफारिस गरेर केन्द्रमा पठाएकाले उतैबाट टुंगो लाग्ने बताएका छन् ।

उनका अनुसार अब केन्द्रबाट को–को उम्मेदवार हुन्छन्, त्यसपछि आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन तर्फ यहाँका नेतृत्व लाग्ने अवस्था आउँछ ।

तर पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले क्षेत्र नं. १ र २ को टिकट अहिले आफैसँग राखेसँगै अरु कुनै नयाँ अनुहार आउने अनुमान लगाउन थालिएको छ ।

पर्साको क्षेत्र नं. १ बाट एमालेले बसरुद्धिन अन्सारी र निवर्तमान प्रतिनिधि सभा सदस्य प्रभु हाजरा दुसादको नाम सिफारिस गरेको छ । हाजरा हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट पनि दोस्रो पटक निर्वाचित केन्द्रिय सदस्य बनेका हुन् । ०७४ सालमा नेकपा एमालेमा पार्टी प्रवेश गरेका अन्सारी वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको उम्मेदवार थिए ।

यस्तै जनता समाजवादी पार्टी नेपालले निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार छनौट गर्न सकस देखिएको छ । पार्टीभित्र जिल्ला तहको सिफारिस र केन्द्रीय तहको दाबीबीच तानातान चुलिँदै गएको छ ।

जसपा त्यागेर हालै पुनः जसपा नेपालमा प्रवेश गरेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रदीप यादवको नाम पर्सा जिल्ला कार्यसमितिले सिफारिस गरेको छैन । तर उनी पार्टीको केन्द्रीय सदस्यमा समावेश भइसकेकाले पर्सा–१ बाट उम्मेदवार हुने चर्चा चुलिएको छ ।

जिल्ला तहका नेताहरूले जिल्लाबाट सिफारिस गरिएकाभन्दा बाहिरका व्यक्तिलाई केन्द्रले उम्मेदवार बनाए स्वीकार्य नहुने समेत चेतावनी दिइरहेका छन् । जसपा नेपालको पर्सा जिल्ला कार्यसमितिले पर्सा–१ बाट उम्मेदवारीका लागि पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवको नाम सिफारिस गरेको छ ।

जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पर्सा क्षेत्र नं. १ बाट आफूलाई नै पार्टीले टिकट दिने विश्वस्त रहेको दाबी समेत गर्छन् । “मैले पार्टीका केन्द्रिय तहका नेताहरुसँग पटक–पटक भन्ने गरेको छु, पार्टी फोड्नेलाई होईन जोड्नेलाई टिकट दिनुस्, फेरी आगामी दिनमा मन्त्री पद पाउँदा पार्टीमा बस्ने र नपाउँदा छाडेर जाने व्यक्तिलाई कुनैपनि हालतमा स्वीकार्य नहुने यादवको चेतावनी रहेको छ ।

यहीँ क्षेत्रबाट ०७९ सालको निर्वाचनमा विजयी भएका पूर्वमन्त्री प्रदीप यादव भने मन्त्री बन्न कै लागि पार्टी विभाजन गरेर अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उनी पुनः जसपा नेपालमा फर्किएका हुन् ।

जनमत पार्टीका तर्फबाट ओमप्रकाश सरार्फ उम्मेदवार हुने निश्चित भईसकेको छ । जिल्ला अध्यक्ष सरार्फ नै क्षेत्र नम्बर १ को उम्मेदवार हुने दावी प्रस्तुत गरीरहेका छन् ।

यस्तै कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीको उम्मेदवार पनि टुंगो लागिसकेको छ । पर्सा क्षेत्र नम्बर १ बाट बहालवाला वडाअध्यक्ष रामकिशोर सिंह (पराग) उम्मेदवार हुन लागेका छन् । केन्द्रिय सदस्य समेत रहेका परागले माघ ४ मा पदबाट राजिनामा दिएर निर्वाचनमा होमिन लागेका छन् ।

सिंह नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिका वडा नं. २० को वडाध्यक्षमा निर्वाचित भएका थिए भने पार्टीको महानगर उपाध्यक्ष समेत थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति हरि पन्तलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । जिल्ला तहबाट एकल नाम सिफारिस भएका पन्त अनुभवीलाई पार्टीमा भित्र्याउने प्रयासमा छन् ।

अरु कुनै योग्य उम्मेदवार पार्टीमा प्रवेश गरेको खण्डमा आफू उम्मेदवार नबन्ने पनि ईच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय