काठमाडौं : यो वर्षको मनसुन आजदेखि पूर्णरूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरु गरेको मनसुन शनिबार पूर्णरूपमा बाहिरिएको भएको हो।
विभागले शनिबार सूचना जारी गरी बाँकी रहेका बागमती, मधेश प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको जानकारी दिएको हो।
यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेश प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो।
शनिबार मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो। यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो। चार दिन ढिलो गरी बाहिरिन शुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको विभागले जनाएको छ।