वीरगन्जबाट लागू औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ का ५३ वर्षिय सुरेश प्रसाद कलवार र छिपहरमाई गाँउपालिका वडा नम्बर १ का २९ वर्षिय भारती प्रसाद यादव रहेका छन् । कलवार कालीकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ठ प्रसाद कलवारका बुबा हुन् ।
उनिहरुलाई लागु औषध अफिम जस्तो देखिने पदार्थ ४ सय १८ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक भारतीका अनुसार, उनिहरु दुवै जनालाई वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित कलवारको घरबाट शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, विशेष सुचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आदर्शनगरस्थित कलवारको घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखिएको ना ४८ प ३७६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएर राखिएको अफिम बरामद गरेको थियो । मोटरसाइकलबाट अफिम बरामद भएपछि उक्त मोटरसाइकल धनी कलवाार र यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भारतीले जाानकारी दिए ।
अफिमसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।