बेमौसमी वर्षाले कपिलवस्तुका किसानहरूको मिहिनेत र लगानी दुवै पानीमा बगाएको छ। काट्न तयार धान खेतमै डुबानमा परेपछि किसानहरू अहिले चिन्तित बनेका छन्। निरन्तर तीन दिनदेखि परेको वर्षाले खेतमा पानी जम्दा काट्न तयार धान सड्ने र भिज्ने क्रम बढेको किसानहरूले बताएका छन्। कतिपय किसानले काटेर खेतमा थुपारेकाे धानसमेत भिजेपछि उनीहरू थप समस्यामा परेका छन्।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा यस वर्ष ६२ हजार ९०७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। तर, हालसम्म २५ देखि ३० प्रतिशत मात्र धान काटिएको छ। ‘विशेष गरी दक्षिणी क्षेत्रमा धान काट्ने तयारी भइरहेको थियो, तर वर्षाले खेतमै रहेका र काटेर छाडिएका धानलाई क्षति पुर्याएको छ,’ चौधरीले भने।
उनका अनुसार छिटो पाक्ने गोरखनाथ, राधा– ४ र ६४४४ जातका धान बढी प्रभावित भएका छन्। वर्षा नरोकिए अझ ठुलो क्षति हुने चिन्ता कृषि प्राविधिकहरूले व्यक्त गरेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार पालिकासँग समन्वय गरी क्षतिको विवरण संकलन भइरहेको छ। स्थानीय तहहरूले प्रतिवेदन पठाएपछि वास्तविक क्षतिको अवस्थाको मूल्यांकन गरिने बताइएको छ।
