जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टाछुट्टै कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पहिलो घटनामा, साहजिम मियाँ अन्सारीलाई अदालतबाट तोकिएको एक वर्ष कैद र १० हजार जरिवाना सजाय कार्यान्वयनका लागि बिहीबार बिहान ८:३० बजे वीरगंज–१७, अलौस्थित घरबाट विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
उनमाथि २०७८ साल वैशाख ३ गते आफ्नी श्रीमती रबिना खातुनलाई दाईजो विवादका कारण कुटपिट गरी हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।
त्यस्तै, अर्को घटनामा भुट्टा भन्ने २२ बर्षिय राज कुमार महताेलाई पनि प्रहरीले २०७८ साल वैशाख १५ गते वीरगंज–२१, परवानीपुरमा जंग बहादुर महतो भन्ने धर्मबीर महतोको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेकै अवस्थामा पक्राउ गरेको छ।
महतोलाई बुधबार साँझ करिब ६:४० बजे वीरगंज–१६, शंकराचार्य गेट नजिक सडकखण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार दुवै पक्राउ परेकालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।
