नेपालमा व्यवसायिक हिट फिल्म ‘होस्टेल ३’ भारतका कतिपय थलोमा अहिले पनि प्रदर्शन भैरहेको छ । त्यहाँका नेपालीभाषी बसोबास गर्ने क्षेत्रमा फिल्म चलिरहेको निर्माताद्वारा प्रेषित विवरणमा जनाइएको छ । नेपालमा फिल्मले ५१ दिन सेलिब्रेसन गरिसकेको छ ।
त्यही सफलता फिल्मले भारतमा पनि दोहोर्याएको हो । निर्देशक तथा निर्माता सशान कँडेल ‘सन्तोष’का अनुसार ५ सेप्टेम्बरदेखि दार्जिलिङस्थित एसभीएफ हलमा फिल्म चलिरहेको हो ।
फिल्मलाई त्यहाँ गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण गरेका हुन् । सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।
निर्देशक कँडेलका अनुसार फिल्मले त्यहाँ ८० लाख भारु ग्रस कलेक्सन गरेको छ । फिल्मले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा पेश गर्छ । फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषको अभिनय छ ।
