वीरगञ्ज, १३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका रामकिशोर सिंह परागले ग्रामीण बस्ती केन्द्रित चुनावी अभियानलाई तीव्र बनाएका छन्। उम्मेदवारी दर्ता गरेयता उनी क्षेत्रका गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमा जुटिरहेका छन्।

ग्रामीण भेगमा प्रवेश गर्दै सिंह परागले स्थानीय समस्या, आवश्यकता र जनअपेक्षाबारे जानकारी लिँदै आफूले फरक राजनीतिक अभ्यास प्रस्तुत गर्न चाहेको बताएका छन्। उनका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केवल सत्ता परिवर्तनका लागि मात्र नभई, सोच र नेतृत्व परिवर्तनको अवसर पनि हो।

“जेन–जी आन्दोलनले उठाएको मर्म र भावनालाई सम्बोधन नगरी अबको राजनीति अघि बढ्न सक्दैन,” उम्मेदवार सिंह परागले भने, “युवापुस्ताले खोजेको पारदर्शी, जवाफदेही र परिणाममुखी प्रतिनिधित्व दिनकै लागि म चुनावी मैदानमा उत्रिएको हुँ।”

उनले दलगत राजनीति भन्दा माथि उठेर नागरिकको दैनिक जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। ग्रामीण भेगमा अझै पनि सडक, खानेपानी, सिँचाइ र रोजगारीको समस्या ज्यूँका त्यूँ रहेको उल्लेख गर्दै उनले “विकास भाषणमा होइन, काममा देखिनुपर्छ” भन्ने धारणा राखे।

यसैबीच, स्थानीय मतदाताहरूको भनाइमा पनि यसपटकको निर्वाचनमा फरक सोच देखिन थालेको छ। क्षेत्रका एक स्थानीय मतदाता भन्छन्, “दलहरूले आ–आफ्नो उम्मेदवार बलियो छ भनेर दाबी गरे पनि हामीलाई चाहिएको भनेको हाम्रो ठाउँको विकास गर्न सक्ने मान्छे हो। पार्टी भन्दा काम गर्ने प्रतिनिधि चाहियो।”

अर्का एक युवामतदाताले राजनीतिक दलहरू जनताको एजेन्डा भन्दा पनि पुस्ता र गुटमा केन्द्रित भएको अनुभूति भइरहेको बताए। “हामी रोजगारी, शिक्षा र भविष्यको कुरा गर्छौं, तर दलहरू पुरानै विवाद र शक्ति सन्तुलनमै अल्झिएको देखिन्छ,” उनको भनाइ छ।

निर्वाचन आउन अब करिब पाँच हप्ता मात्र बाँकी रहँदा पर्सा–१ मा चुनावी सरगर्मी बढ्दै गएको छ। दलहरू मात्र होइन, मतदाताहरू पनि आफ्नो मत कसलाई दिने भन्ने विषयमा गम्भीर छलफल र चुनावी जोडघटाउमा जुट्न थालेका छन्। धेरै मतदाताले यसपटक आफूले खोजे जस्तै नागरिकको हितमा काम गर्ने उम्मेदवारलाई छान्ने मनस्थिति बनाएको प्रतिक्रिया दिन थालेका छन्।

स्थानीय तहदेखि संघीय तहसम्म विकासका कामले गति नलिएको गुनासोबीच, यस निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा हेर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ। यही सन्दर्भमा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह परागको ग्रामीण केन्द्रित अभियानले पर्सा–१ को चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्र बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय