
पर्साको वीरगन्ज महानगरपालिकामा हैजा फैलिँदा हालसम्म तीन जनाको मृत्यु भएको छ । तीव्र गतिमा फैलिएको हैजाका कारण स्थिति गम्भीर बनेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. चन्द्रभाल झाले जानकारी दिए ।
मधेस प्रदेशको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार १ सय २९ जना बिरामी परेका छन् । भर्ना भएकामध्ये ८० जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरूको एचडीयू र आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । वीरगन्जमा प्रकोपको सुरुवात भदौ ६ गतेदेखि भएको थियो ।
पहिलो दिन १५ जनामा सङ्क्रमण देखिएकामा सो सङ्ख्या बढेर हालसम्म १२९ जना पुगेको उनले बताए । उनका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा हैजाको सङ्क्रमण पुष्टि (पोजेटिभ) देखिएको र अन्तिम प्रमाणीकरणका लागि प्रक्रिया चलिरहेको छ । प्रकोप वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ११, १२, १३ र १६ मा बढी देखिएको छ । सबैभन्दा बढी बिरामी नारायणी अस्पतालमा ३३ जना र तराई अस्पताल ३५ जना भर्ना भएका छन् । त्यसैगरी, नेसनल मेडिकल कलेज, एडभान्स हस्पिटल र वीरगन्ज हेल्थ केयरमा पनि बिरामीको चाप बढेको छ । पानीको स्रोतमा हैजाको जीवाणु मिसिई सो दूषित पानी मानिसले पिएमा हैजा सङ्क्रमण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुरका पुनले बताए । यस्तै, दूषित पानी प्रयोग गरिएका खानेकुराबाट पनि हैजा सर्ने गर्छ । हैजाको जीवाणुले सानो आन्द्रामा सङ्क्रमण गराउने उनले बताए । वीरगन्जको हकमा पनि दूषित पानीकै कारण हैजा फैलिएको आशंका गरिएको छ ।
हरेक वर्ष बर्खायाममा प्रदूषित पानीका कारण हैजा, झाडापखाला लगायतको सरुवा रोग फैलिने गरेको छ । अघिल्लो वर्ष ललितपुरका विभिन्न ठाउँमा हैजा फैलिएको थियो । त्यतिबेला हैजाका ५० वटा केस पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक हजार ३१६ जनामा हैजा पुष्टि हुँदा २०८०/०८१ मा घटेर १ हजार १६ जनामा पुष्टि भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा हैजा हुनेको सङ्ख्या २ हजार ३७३ पुगेको थियो ।
विशेष गरी बर्खायाममा झाडापखालाका बिरामी बढ्ने गर्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभरि १ लाख ९९ हजार १६९ जना झाडापखालाका बिरामी थिए । आर्थिक वर्ष २०८०/०८१ मा २ लाख २७ हजार ४८५ जनामा झाडापखाला देखिएको थियो ।
के हुन् लक्षण ?
हैजा लाग्दा अन्य झाडापखाला हुँदा जस्तै पातलो दिसा र बान्ता हुने सरुवा रोग विशेषज्ञ डा. पुनले बताए ।हैजा लागेको मानिसलाई पातलो चौलानी पानीजस्तो तारन्तार दिसा लाग्नुका साथै बान्ता हुने गर्छ । अत्यधिक पिँडुला दुख्ने जस्ता लक्षण पनि देखिने उनले बताए ।
जसका कारण शरीरमा जल वियोजन हुने भएकाले तत्काल जीवनजल पिउने र पातलो दिसा नरोकिएका तत्काल अस्पताल जानुपर्ने डा.पुनको भनाइ छ । उनका अनुसार जलवियोजनका कारण शरीरका मांसपेशी बाउँडिने लगायतका समस्याहरू देखा पर्छन् ।
हैजाका गम्भीर लक्षणहरू देखिनासाथ घरमा उपचार नखोजेर तत्काल अस्पताल जान उनको सुझाव छ । सामान्य झाडापखाला भन्दा हैजा निकै फरक र घातक हुने हुँदा यसका लक्षणहरू चिन्न अति आवश्यक भएको उनको भनाइ छ ।
हैजा हुँदा चौलानीको पानीजस्तो सेतो र पातलो दिसा हुन्छ । लगातार वाकवाकी लाग्ने र खाएको वा पिएको कुरा केही पनि नअडिने गरी तारन्तार बान्ता हुनु हैजाको अर्को प्रमुख संकेत भएको डा पुनले बताए ।
हैजा किन हुन्छ घातक ?
डा. पुनका अनुसार हैजाका कारण शरीरबाट अत्यधिक पानी र आवश्यक लवणहरू बाहिरिने हुँदा यसले गर्दा शरीरमा ‘डिहाइड्रेसन’ र ‘इलेक्ट्रोलाइट असन्तुलन’ हुन्छ । जस कारण समयमै उपचार नपाएमा यसले किड्नी जस्ता महत्त्वपूर्ण अङ्गहरूलाई असर पुर्याउने र ‘मल्टी अर्गान फेलियर’ भएर बिरामीको छिट्टै मृत्यु हुने उनले बताए ।
‘यदि बान्ता एकदम तारन्तार भयो भने घरमा बस्न हुँदैन बिरामीले जीवनजल पिउनै नसक्ने अवस्थामा शरीरमा पानीको पूर्ति हुन पाउँदैन र अवस्था झन् गम्भीर बन्छ । तारन्तार बान्ता र पानीजस्तो दिसा एकैसाथ भइरहेको छ भने एक मिनेट पनि प्रतीक्षा गर्न हुँदैन,’ उनले भने ।
प्रदूषित पानी पिउँदाका समस्या
पानीमा प्रदूषित भएमा टाइफाइड, हेपाटाइटिस, झाडापखाला जस्ता लगायतका अन्य खतरनाक रोगको पनि सङ्क्रमण हुन सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा. विमल चालिसे खानेपानी प्रदूषित हुँदा झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य सरुवा रोग सङ्क्रमण फैलिन सक्ने बताउँछन् । डा. चालिसेका अनुसार प्रदूषित पानी पिउँदा विभिन्न पानीजन्य रोगको जोखिम बढाउँछ । यस्तो पानी पिउँदा झाडापखाला, आउँ, कलेरा, टाइफाइड, र हेपाटाइटिसजस्ता रोग लाग्न सक्छ ।
वीरगन्ज क्षेत्रमा हैजा नियन्त्रण गर्न के छ सरकारी प्रयास ?
ईडीसीडीका निर्देशक डा झाका अनुसार हैजा प्रभावित क्षेत्रमा स्थानीय सरकारले सडकमा खानेकुरा बेच्न अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । साथै प्रकोपको वर्तमान अवस्था र भावी योजनाबारे छलफल गर्न संघीय, प्रदेश र स्थानीय तहका सरोकारवालाहरूबिच बैठक बसिरहेको उनले बताए ।
उनले स्थानीय बासिन्दालाई पानी उमालेर मात्र पिउन, सरसफाइमा विशेष ध्यान दिन र झाडापखालाको लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह गरे ।
यस्तै, प्रकोप नियन्त्रणका लागि संघीय स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारका निकायहरूले समन्वयात्मक रूपमा काम अघि बढाएको उनले बताए । प्रभावित वडाहरूमा स्वास्थ्यकर्मीहरूले घरदैलो अभियान चलाएर जनचेतना जगाउने तथा सरसफाइ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने काम गरिरहेको उनको जिकिर छ । Source : ratopati.com