
वीरगन्ज महानगरपालिकाको केही वडामा समुदाय स्तरमा हैजाका बिरामी देखिएपछि मधेस प्रदेश सरकारले सहयोगमा जुटेको छ ।
आईतबार प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री नारायणी अस्पतालमा पठाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा। चुमनलाल दासलाई औषधि र सामाग्री हस्तान्तरण गरेका हुन् ।
झाडापखाला र हैजाका बिरामीको उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । उनका अनुसार वीरगन्जमा फैलिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पनि लागेकाले आवश्यक थप औषधि र सामग्री उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको छ ।
अहिले दिनहुँ झाडापखाला र हैजाका बिरामी थपिँदै गएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए ।
महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले बताए।