विराटनगरदेखि पाँच किलोमिटर तल मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा यादवटोल नाम गरेको एउटा गाउँ छ । यादवटोलमा करिब ६० घरधुरी छन् । करिब चार सयको हाराहारीमा बसोवास गर्दै आएका यादवहरूको यो टोलबारे एउटा कहावत नै छ, ‘यादवटोलको जुन घरमा ढुंगा हाने पनि डाक्टरको घरमा लाग्छ ।’
हुन पनि चार दशकभित्र यादवटोलबाट मात्र ३० जनाजति डाक्टर बनिसकेका छन् । यादवटोलबाट डाक्टर भएकाहरू विराटनगरको नोबेल र विराट शिक्षण अस्पतालदेखि निजी अस्पतालमा कार्यरत छन् । कोही धरान, बुटबल, काठमाडाैं, जनकपुरदेखि माल्दिभ्स र अमेरिकामा समेत कार्यरत छन् । यहाँबाट ठाक्टर बनेकाहरू सर्जन, फिजिसियन, गाइनो, पेडियाट्रिक, रेडियोलोजिस्ट, एनाटोमी, अङकोलोजीलगायत विषयविज्ञ छन् ।
यादवटोलबाट डाक्टरहरू मात्र नभएर नर्स र स्वास्थ्यकर्मीको संख्या पनि उत्तिकै छ । अझै डाक्टर र स्वास्थ्य विज्ञान पढ्ने युवाहरूको गाउँमा लर्को नै छ । यो गाउँमा प्रायः घरपरिवारले उच्च शिक्षामा पहिले डाक्टरी त्यसपछि स्वास्थ्यकर्मीको पढाइलाई नै रोज्ने गरेका छन् । त्यसपछि मात्र व्यवस्थापन, विज्ञान र मानविकी विषय रोज्ने गर्छन् । यो गाउँबाट करिब एक दर्जन विभिन्न विषयका प्राध्यापक अनि उत्तिनै मात्रामा शिक्षक र बैंक तथा वित्तीय संस्थाका जागिरे पनि उत्पादन भइसकेका छन् ।
डाक्टरहरूको गाउँ भनिए पनि गाउँमा राम्रो स्वास्थ्य केन्द्र वा अस्पताल छैन । सुविधासम्पन्न सामुदायिक भवन निर्माण भएको छैन । चोकहरू सुनसान र उजाड छन् । सरसफाइको अवस्थामा पनि धेरै सुधार आउन सकेको छैन । अगुवा बाबुप्रसाद भन्छन्, ‘पढेर डाक्टर बनेकाहरूले गाउँको विकासका लागि चासो दिएनन् ।’
परम्परागत खेतीपातीमा रमाएर जीविकोपार्जन गर्दै आएको यादवटोलबाट मात्रै यति धेरै डाक्टर र शिक्षितहरू उत्पादन कसरी सम्भव भयो ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । यो गाउँलाई देशमै सबैभन्दा धेरै डाक्टर उत्पादन हुने गाउँ बनाउन अगुवाको भूमिका निभाउने उत्प्रेरक व्यक्ति हुन् ७० वर्षीय बाबुप्रसाद यादव । बाबुप्रसादकै अग्रसरता र उत्प्रेरणादायी नेतृत्वले परम्परागत खेतीपातीमा जीवन निर्वाह गर्ने यादवटोल देशभरिमै सबैभन्दा धेरै डाक्टर र शिक्षितहरू उत्पादन गर्न सफल गाउँ बनेको छ ।
विराट शिक्षण अस्पतालमा कार्यरत डाक्टर अनिल यादव भन्छन्,‘अगुवा बाबुप्रसाद नभएको भए हाम्रो टोल यसरी देशमै धेरै डाक्टर उत्पादन गर्ने गाउँ भनेर चिनिँदैनथ्यो ।’ उनका अनुसार अगुवा बाबुप्रसादकै कारण यादवटोलमा सबैलाई डाक्टरी पढ्ने प्रेरणा जागेको हो । विराटनगरकै नोबेल शिक्षण अस्पतालमा कार्यरत डा. रमेश यादवका अनुसार त्यो वेलाका शिक्षित बाबुप्रसादले आफूले जागिर नखाई–नखाई गाउँको शिक्षाका लागि घरघरमा पुगेर पढ्न सबैलाई उत्प्रेरित मात्र गरेनन्, आफ्नो भाइलाई डाक्टर बनाउन सफल भए ।
यादवटोलबाट पहिलोपटक एमबिबिएस गरेका डा. शीतल यादवले लामो समय विराटनगरको कोशी अस्पतालमा सेवा गरे । आफ्नो निजी क्लिनिक पनि चलाए र गाउँलेहरूको निःशुल्क उपचार पनि गरिदिन थाले । त्यसपछि गाउँका अरू अभिभावकलाई आफ्ना सन्तान डा. शीतलजस्तै बनाउने उत्प्रेरणा जाग्यो । उनीहरूले जग्गा बेचेर भए पनि सन्तानलाई डाक्टरी पढाउन थाले । डा. रमेश भन्छन्,‘सिंगो यादवटोल डाक्टरहरूको गाउँ हुनुमा अगुवा बाबुप्रसादको पहिलो र ठूलो योगदान छ ।’
अगुवा बाबुप्रसादले २०३२ सालतिर बिकम गरेका थिए । त्यो वेला उनले चाहेको भए बैंक र वित्तीय संस्थाहरूमा उच्च पदको जागिर सहजै पाउँथे । तर, उनले गाउँलाई साक्षर बनाउन जागिर खाएनन् । २०३५ सालमा बुबा बुधनदासको निधनपछि बाबुप्रसादले आफ्नो पारिवारिक दायित्वसँगै गाउँको जिम्मेवारी पनि सम्हाल्न सुरु गरे ।
राजनीतिक सुझबुझ भएका बाबुप्रसादले आफ्नो भाइ शीतल यादवलाई दुःख गरेर स्कुले शिक्षा मात्र पूरा गराएनन्, भारतमा छात्रवृत्ति पढ्न पढाएर २०४० सालमै डाक्टर पनि बनाए । सरकारी स्कुलमा पढेर तेस्रो श्रेणीमा उत्तीर्ण भएका बाबुप्रसादका भाइ शीतल डाक्टर बनेर आएपछि मेची अस्पताल भद्रपुर हँुदै कोशी अस्पताल विराटनगरमा लामो समय काम गरे । डा. शीतल कोशी अस्पतालको प्रमुख पनि भए । रिटायर्ड भएपछि विराटनगरमा छोराहरूको सहयोगमा आफ्नै निजी अस्पताल चलाइरहेका छन् ।
बाबुप्रसादका भाइ शीतल पहिले एमबिबिएस र पछि एमडी गर्दै फिजिसियन डाक्टर बन्न सफल भएपछि गाउँमा डाक्टर पढाउन अरूलाई पनि प्रेरणा मिल्यो । बाबुप्रसादले आफ्ना तीन छोराहरूलाई पनि डाक्टरी नै पढाए । भाइ शीतल यादवले पनि आफ्ना दुवै छोराहरूलाई डाक्टर नै बनाए । त्यसपछि गाउँमा डाक्टर पढ्ने युवायुवतीहरूको लर्को लाग्न थाल्यो । परम्परागत खेतीपाती गर्ने यादवहरूले कसैले ऋण लिएर त कसैले जग्गा बिक्री गरेर आफ्ना छोराछोरीलाई डाक्टर नै बनाए । डाक्टर बनेका छोराहरूले पनि डाक्टर नै पढेका बुहारी बिहे गरे ।
०४० सालदेखि ०८० सालसम्म आइपुग्दा यादवटोलमा ३० जना एमबिबिएस र एमडी गरेका डाक्टर उत्पादन भइसकेका छन् । अझै उत्पादन हुने क्रम जारी छ । स्थानीय शिक्षक उमेश यादव भन्छन्,‘यसैले त हाम्रो गाउँको जुन घरमा ढुंगा हाने पनि डाक्टरकै घरमा लाग्छ भनिएको होला ।’ उनका अनुसार अहिले यादव गाउँका धेरैजना डाक्टर देश–विदेशमा छरिएर उपचार सेवा दिइरहेका छन् । कोही अस्पतालमा जागिर गरिरहेका छन् भने कोही आफ्नै अस्पताल र क्लिनिक सञ्चालन गरिरहेका छन् ।
देशमै सबैभन्दा धेरै डाक्टर उत्पादन गर्ने गाउँ बनाउन अगुवा बाबुप्रसाद यादवको सक्रिय लगनशीलता नै उत्प्रेरणा बनेको स्थानीयहरू स्विकार्छन् । तीनचोटि गाउँको वडा अध्यक्ष र एक चोटी राष्ट्रिय पञ्चायतको जिल्ला सदस्य समेत भइरहेका बाबुप्रसादले त्यो वेला गाउँमा हाइस्कुल नभए पनि विराटनगर धाएर एसएलसी पास गरेका थिए । उनले साइकलमा विराटनगर धाएरै क्याम्पस पढेर बिकम पास गरेका थिए । उनले आफूले पढेर जागिर नखाए पनि सरकारी स्कुलबाट एसएलसी उत्तीर्ण गरेका आफ्ना भाइ शीतल यादवलाई डाक्टर बनाए ।
भारतमा छात्रवृत्ति पाउन उनले नेपाली कंग्रेसका नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट सहयोग पाएका थिए । उनले त्यो वेला भाइलाई पढाउन आफ्नो जागिरलाई पनि तिलाञ्जली दिएका थिए । बाबुप्रसादले विकम गरेर जागिर खाएनन् । भाइलाई पढाउँदै गाउँमा ट्रयाक्टर किनेर खेतीबारी गर्न थाले । स्थानीयका अनुसार बाबुप्रसादले आफ्नो परिवारलाई मात्र पढाएनन् गाउँमा कसैलाई पनि बरालिन दिएनन् । त्यो वेलाका शिक्षित र सक्रिय युवा बाबुप्रसादले गाउँका घरघरमा गएर केटाकेटीहरूले पढे–नपढेको चासो लिन थाले ।
बुढीगंगा–१ करैया टोलका युवा रोहित मगर बाबुप्रसादको योगदान उच्च रहेको बताउँछन् । समाजसेवी स्थानीय मोहम्मद सकिरुद्दिन पनि ऊ वेला बिकम गरेका बाबुप्रसादले आफ्नो स्वार्थभन्दा पनि समाजको हकहितलाई धेरै चासो दिएकाले सबैमा डाक्टर पढाउने प्रेरणा जागेको बताउँछन् । यादवटोलको अवस्थालाई नजिकबाट देखे–बुझेका सकिरुद्दिन भन्छन्, ‘बाबुप्रसादले आफ्नो भाइलाई काँधमा बोकेर आफैँले हलो जोती डाक्टरी नपढाएको भए सायदै यादवटोलमा कोही डाक्टर बन्ने थिए होलान् ।’
बाबुप्रसादको शिक्षा
अगुवा बाबुप्रसादका बुबा बुधनदास निरक्षर थिए । लेखपढ गर्न नजाने पनि बुधनदास अड्डा–अदालत धाइरहन्थे । सरकारी कागज, निवेदन र सूचनाहरू अरूलाई पढ्न लगाएर भए पनि आफूले बुझ्ने र अरूलाई पनि बुझाउने गर्थे । यसैले उनले त्यो वेला नै शिक्षाको महत्व बुझे र जेठा छोरा बाबुप्रसादलाई बिकमसम्म पढाए । त्यसपछि पढेका बाबुप्रसादले भाइ शीतललाई दिलोज्यान दिएर पढाए । अनि गाउँका अरूलाई पनि छोराछोरी पढाउन प्रेरित गरिरहे । उनका बुबा बुधनदासको २०३५ सालमा मृत्यु भयो । त्यसपछि बाबुप्रसादले नै गाउँमा अगुवाइ गर्ने काम गरे । अहिले पनि गरिरहेका छन् । हाल यादव गाउँमा बाबुप्रसादका तीन छोरा अनिल, राजेश, रमेश र उनीहरूका बुहारीहरू पनि डाक्टर भइसकेका छन् ।
डाक्टरप्रति गुनासो
अगुवा बाबुप्रसादलाई आफ्नो गाउँ डाक्टरहरूको गाउँ भनेर चिनिएकोमा जति गर्व लाग्छ, त्यति नै दुःख एउटा विषयमा लागिरहन्छ । त्यो दुःखको कारण हो दुःखले बनेका डाक्टरहरूले गाउँको विकासमा चासो नराख्नु । यादवटोल डाक्टरहरूको गाउँ भनेर चिनिए पनि विकासको अवस्थामा अझै पछाडि छ । बाबुप्रसादका डाक्टर छोराबुहारीबाहेक अरू डाक्टर गाउँमा बस्दैनन् । गाउँको विकासमा शिक्षित व्यक्तिको हैसियतमा लिनुपर्ने चासोसमेत नलिँदा बाबुप्रसाद निकै दुःखी हुन्छन् ।
चाडपर्वका वेला मान्यजनसँग भेटघाट गर्न आए पनि उनीहरूमा सामूहिक हार्दिकता नभएको बाबुप्रसादको गुनासो छ । कोही पनि डाक्टरहरूले भेला भएर आफूलाई डाक्टर बनाउने पुख्र्यौली गाउँको विकासका लागि के योगदान गर्न सकिन्छ भनेर चिन्ता गर्दै छलफल गर्ने गरेका छैनन् । यसैले अझै पनि यादवटोलमा कच्ची सडक छ । प्रायः घरहरू अझै पुरानै शैलीका छन् । अभिभावकहरू अझै परम्परागत खेतीपाती र पशुपालनबाटै जीविका चलाइरहेका छन् ।
डाक्टरहरूको गाउँ भनिए पनि गाउँमा राम्रो स्वास्थ्य केन्द्र वा अस्पताल छैन । सुविधा सम्पन्न सामुदायिक भवन निर्माण भएको छैन । चोकहरू सुनसान र उजाड छन् । सरसफाइको अवस्थामा पनि धेरै सुधार आउन सकेको छैन । सत्तरी वर्षीय अगुवा बाबुप्रसाद भन्छन्, ‘पढेर डाक्टर बनेकाहरूले चासो दिएको भए गाउँको अवस्था धेरै नै फेरिइसक्ने थियो । तर, के गर्नु सबैले आफूलाई मात्रै हेरे, गाउँको विकासका लागि कसैले पनि चासो दिएनन् ।’ Source : Nayapatrikadaily.com