
वीरगन्ज । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी, किट) का प्रतिनिधिहरू यतिबेला वीरगन्जमा सक्रिय छन्।
दुई महिनाअघि मात्रै दुई नेपाली विद्यार्थीको रहस्यमय मृत्युका कारण बदनाम बनेको किटले नेपालबाट विद्यार्थी आकर्षित गर्न ‘नयाँ भर्ना अभियान’ सुरु गरेको छ।
वीरगन्जमा एक हप्तादेखि क्याम्प गाडेका उनीहरू कलेज, इन्स्टिच्युट र कन्सल्टेन्सीहरूसँग सम्पर्क गरी विद्यार्थीलाई किटमा पठाउन विभिन्न किसिमका प्रलोभन दिइरहेका छन्।
मृत्यु प्रकरणको छायामा भर्ना अभियान
किटमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल र वीरगन्जकी प्रिसा साहको रहस्यमय मृत्युले नेपालमा ठूलो हल्लीखल्ली मच्चाएको थियो। फागुन ४ मा प्रकृतिले र वैशाख १८ मा प्रिसाले ज्यान गुमाएकी थिइन्।
प्रकृति लम्सालको मृत्युपछि किटमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएर वीरगन्जमा प्रदर्शनसमेत गरेका थिए। रोचक कुरा के छ भने, त्यही प्रदर्शनकारीको भिडमा प्रिसा साह पनि थिइन्, जो दुई महिनापछि सोही कलेजमा रहस्यमय रूपमा मृत फेला परिन्।
प्रकृतिको मृत्यु प्रकरणलाई लिएर वीरगन्जमा ठूला प्रदर्शनहरू भए पनि प्रिसाको मृत्यु प्रकरणमा भने एक९दुई दिन मैनबत्ती बालेर न्यायको माग गरिएको बाहेक कुनै ठूलो आन्दोलन देखिएको छैन।
यसले किटमा नेपाली विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ, तर पनि किटका प्रतिनिधिहरू भने अहिले नेपालमा विद्यार्थी तान्ने अभियानमा जुटेका छन्। उनीहरू विद्यार्थी नेता, कलेजका व्यवस्थापक, कन्सलटेन्सी र इन्स्टिच्युट सञ्चालकहरूलाई प्रभावमा लिएर नयाँ विद्यार्थी भर्ना अभियानमा जुटिरहेका छन् ।
छवि सुधार्ने प्रयास कि प्रलोभनको रणनीति ?
किटका प्रतिनिधिहरूले दुई विद्यार्थीको मृत्युलाई ‘दुर्भाग्यवश’ भएको घटना भन्दै अबदेखि विश्वविद्यालयले यस्ता विषयमा अझ कडा निगरानी गर्ने र नेपाली विद्यार्थीलाई विशेष ध्यान दिने आश्वासन दिइरहेका छन्।
उनीहरूले जुलाईको पहिलो वा दोस्रो हप्तादेखि नयाँ कक्षा सञ्चालन गर्ने भन्दै नेपालका विद्यार्थीलाई अग्रिम रूपमा फारम भर्न आग्रह गरिरहेका छन्।
तर, स्रोतका अनुसार किटका प्रतिनिधिहरूले यहाँका कलेज व्यवस्थापन, विद्यार्थी नेता र स्थानीय एजेन्टहरूलाई विभिन्न अफर दिइरहेका छन्। यसमा कलेजलाई डेस्क बेन्च, खेलकुद सामग्री, पढाउने र सिकाउने उपकरणहरू ‘नजराना’ दिनेदेखि लिएर कतिपयलाई विदेश भ्रमण र भारत घुमघामको अफरसमेत दिइएको छ।
वीरगन्जका होटेलहरूमा उनीहरूसँगको भोजभतेर बाक्लिनुले पनि यस कुरालाई पुष्टि गर्छ। यसले किटले आफ्नो खराब छवि सुधार्न भन्दा पनि विभिन्न प्रलोभन देखाएर नेपाली विद्यार्थीलाई पुनः तान्न खोजेको प्रष्ट देखिन्छ।
स्थानीय विद्यार्थी नेता र अभिभावकको भूमिका
प्रकृति लम्सालको मृत्युपछि वीरगन्जमा ठूला प्रदर्शनहरू भए पनि प्रिसा साहको मृत्यु प्रकरणमा भने एक—दुई दिन मैनबत्ती बालेर न्यायको माग गरिएको बाहेक कुनै ठूलो आन्दोलन देखिएको छैन। यसले विद्यार्थी आन्दोलनको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। तत्कालीन आन्दोलनका क्रममा किट प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो, जसले विद्यार्थीहरूलाई थप दबाबमा पारेको थियो।
यस्तो अवस्थामा स्थानीय विद्यार्थी नेताहरू, कलेज प्रशासन र अभिभावकहरूले गम्भीर भूमिका खेल्नुपर्ने देखिन्छ। उनीहरूले किटका प्रतिनिधिहरूका प्रलोभनमा नफसी विद्यार्थीहरूको सुरक्षा र भविष्यलाई प्राथमिकता दिनुपर्छ। वीरगन्जका शैक्षिक संस्थाहरूले किटसँगको सम्बन्ध अघि बढाउनुअघि त्यहाँ नेपाली विद्यार्थीको सुरक्षाका लागि ठोस प्रत्याभूतिको माग गर्नुपर्ने एक विद्यार्थी नेता बताउँछन् ।
प्लस टु दिएर बसेका र आइटी लगायतका विषयमा अध्ययन गर्न रुचि राखेका विद्यार्थीहरूलाई किटलगायतका कुनै पनि विदेशी विश्वविद्यालयमा जानुअघि सम्पूर्ण जानकारी लिनु अपरिहार्य छ। अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई विदेश पठाउनुअघि विश्वविद्यालयको इतिहास, सुरक्षा व्यवस्था, नेपाली विद्यार्थीका लागि उपलब्ध सुविधा र त्यहाँका घटनाक्रमबारे गहन अनुसन्धान गर्नुपर्छ। प्रलोभनमा परेर हतारमा निर्णय गर्दा भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्छ।
किटले आफ्नो खराब छवि सुधार्न खोज्दैछ कि केवल थप विद्यार्थी तान्ने व्यापारिक रणनीति मात्रै हो, यो प्रश्नको जवाफ अभिभावकले खोज्नु पर्छ ।
सरकार र दूतावासको मौनता
प्रकृतिको मृत्युपछि नेपाल सरकार र भारतस्थित नेपाली दूतावासले यस विषयमा चासो देखाएका थिए। कन्सुलर एसएसपी शर्माले प्रहरीले दूतावाससँग त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता जनाएको बताएका थिए। तर, प्रिसाको मृत्यु र किटको नयाँ भर्ना अभियानको सन्दर्भमा सरकार र दूतावासको सक्रियता अपेक्षित देखिएको छैन। दुई विद्यार्थीको रहस्यमय मृत्यु भएको विश्वविद्यालयमा पुनः विद्यार्थी पठाउने अभियान चल्दा पनि सरकारी निकायको मौनताले धेरैलाई खिन्न बनाएको छ।
नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ। शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासले किटमा नेपाली विद्यार्थीको सुरक्षाको अवस्थाबारे गम्भीर अध्ययन गरी आवश्यक कदम चाल्नुपर्छ। विद्यार्थी पठाउन अनुमति दिनुअघि विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि सुरक्षित वातावरण छ वा छैन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ। Source :Nepalpress.com