खानेकुरा वा पानीमा दिसाजन्य फोहोर मिसिँदा हैजा फैलन्छ । संक्रमित व्यक्तिको दिसाबाट १० दिनसम्म कोलेरा जीवाणु अर्कोमा सर्न सक्छ । पानीमा हैजाजन्य जीवाणु मिसिएको छ भने त्यो समुदायस्तरमै फैैलिए जोखिम हुन्छ । अहिले वीरगन्जमा देखिएको संक्रमण पनि पानीकै कारण हुन सक्ने अनुमान गरिए पनि प्रयोगशाला परीक्षण भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार खानेकुरामा हैजाजन्य जीवाणु मिसियो भने हैजा हुन्छ । व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने, सफा खानेकुरा खाने, शंका लागेमा क्लोरिन हालेर पानी सफा गरेर मात्रै पिउने गर्नुपर्छ ।
डा. मनिता प्याकुरेलले नेपालमा देखिएको हैजा सिजनल आउटब्रेक रहेको बताइन् । यस्तो अवस्थामा रेस्पोन्समा ढिलाइ गर्दा भयावह भई र नियन्त्रणमा कठिन हुने उनले बताइन् । ‘तराईमा गर्मीयाममा हैजा हुन्छ । एकजनामा हुँदाबित्तिकै अर्कोमा सर्नलाई समय लाग्दैन, किनभने यो तत्काल फैलिन्छ । हाम्रो दैनिकी र सरसफाइले यसमा फरक पार्छ,’ उनले भनिन्, ‘नियन्त्रणको र ल्याब परीक्षणको रेस्पोन्स ढिलो हुँदा भयावह रूप लिन्छ । परीक्षण गरेको रिपोर्ट आउँदासम्म धेरैमा फैलिसक्छ, त्यसकारण कोलेराको एउटा केस देखिए पनि आइसोलेट गर्नुपर्छ ।’
