वीरगञ्ज, १५ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जालिम मियाँ यतिबेला घरदैलो अभियानलाई आफ्नो मुख्य राजनीतिक हतियार बनाइरहेका छन्। आज जगरनाथपुर गाउँपालिकाका विभिन्न वडामा गरिएको घरदैलो कार्यक्रम केवल मत माग्ने औपचारिक अभियान मात्र थिएन, बरु स्थानीयसँग प्रत्यक्ष संवाद, आत्मालोचना र भावी दृष्टिकोण प्रस्तुत गर्ने मञ्चसमेत बन्यो।
घरदैलोका क्रममा जालिम मियाँले स्थानीयसँग खुलेर संवाद गर्दै विगतका कमजोरी, वर्तमान चुनौती र भविष्यका योजना राखे ।
“म मतदाताको घरसम्म केवल भोट माग्न गएको होइन, उनीहरूको पीडा सुन्न र समाधानको बाटो खोज्न गएको हुँ।”
स्थानीयको घरआँगनमै बसेर उनले क्षेत्रको विकास अवस्था, बेरोजगारी, शिक्षा र स्वास्थ्यका समस्याबारे प्रत्यक्ष जानकारी लिए। यही संवादलाई उनले आफ्नो आगामी संसदीय भूमिकाको आधार बनाउने दाबी गरे।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग करिब पाँच हजार मतले पराजित हुनु जालिम मियाँका लागि राजनीतिक धक्का थियो। तर, उनी त्यसलाई आज अनुभव र पाठ का रूपमा व्याख्या गर्छन्।
उनका अनुसार पटक–पटक निर्वाचित भइसकेका अन्य प्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको अवस्था नै आफूलाई पुनः मैदानमा उत्रन प्रेरणा बन्यो।
घरदैलो अभियानभरि जालिम मियाँको मुख्य राजनीतिक तर्क भनेको एमाले स्थायित्व र विकास हो।
उनले देश अहिले असन्तुष्टि, अन्योल र ‘जेन–जी आन्दोलन’ जस्ता कारणले गलत दिशातर्फ गइरहेको दाबी गर्दै भने,
“देशलाई सही ट्र्याकमा ल्याउन बलियो नेतृत्व चाहिन्छ, त्यो एमालेसँग मात्रै छ।”
उनको विश्लेषणमा एमालेले सरकारको नेतृत्व गर्दा मात्र सुशासन, विकास र दीर्घकालीन नीति कार्यान्वयन सम्भव हुन्छ। यसपटक बहुमतसहित एमाले विजयी भए मात्र देशले सही दिशा लिने उनको दाबी छ।
“पर्सा–४ का समस्या काठमाडौं पुर्याउने मात्र होइन, समाधानका लागि दबाब सिर्जना गर्ने सांसद बन्छु,” उनको भनाइ छ।
पर्सा–४ मा जालिम मियाँको घरदैलो अभियान केवल चुनावी कर्मकाण्ड होइन, राजनीतिक पुनरागमनको प्रयत्न हो। विगतको हारलाई आत्मसात् गर्दै, स्थानीयसँग प्रत्यक्ष संवाद र एमालेको स्थायित्वको नारालाई जोड्दै उनी मतदाताको विश्वास पुनः जित्ने प्रयासमा छन्।
अब निर्णय भने मतदाताको हातमा छ : अनुभवलाई मौका दिने कि फेरि नयाँ अनुहार खोज्ने ?
