वीरगञ्ज, १४ माघ । पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा यसपटकको चुनाव विशिष्ट परिस्थितिमा भइरहेको छ । अघिल्ला उम्मेदवार राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा मुछिएर पुर्पक्षका लागि कारागार पुगेपछि एमालेले विकल्प खोज्नु स्वाभाविक हो ।

यहीँ परिवेशमा यूवा रुपेश पाण्डेलाई अगाडि सारिनु केवल बाध्यताको निर्णय मात्र नभई रणनीतिक जोखिम पनि हो ।
तर यहीँ जोखिम नै अहिले पाण्डेको सबल पक्षका रूपमा देखा पर्न थालेको छ । मतदातामा व्याप्त “पुरानै अनुहार, पुरानै शैली” बाट दिक्क भएको भावनालाई उनले प्रतिनिधित्व गर्न थालेका छन् ।

रुपेश पाण्डेको पृष्ठभूमि शुद्ध राजनीतिक होइन : उनी काठमाडौँमा बसेर लामो समय व्यापार–व्यवसायमा सक्रिय व्यक्ति हुन् । केही दिनअघिसम्म मात्रै पार्टी गतिविधिमा देखिनु उनका आलोचकहरूले औँल्याउने मुख्य बिन्दु हो ।

तर स्थानीय मतदाताको एक ठूलो हिस्सा यसलाई नकारात्मक होइन, सकारात्मक रूपमा लिइरहेको देखिन्छ । स्थानीय मतदातासँग गरिएको कुराकानीमा धेरैले अनुभवी तर विवादित अनुहारभन्दा सफा छवि भएको उम्मेदवारलाई मौका दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मतदाताका अनुसार, पछिल्ला वर्षहरूमा बढ्दो राजनीतिक असन्तुष्टिका बीच नयाँ र कम विवादित उम्मेदवारप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

“अब त भाषणभन्दा पनि इमानदार मान्छे चाहियो,” पकहामैनपुरका एक ज्येष्ठ मतदाताले भने, “अघिल्लो घटना पछि सबै सचेत भएका छौँ ।”

व्यवसायिक पृष्ठभूमिले उनलाई व्यवस्थापन क्षमता, हिसाब–किताबमा पारदर्शिता र परिणाममुखी सोच दिने अपेक्षा गरिएको छ । भ्रष्टाचारको मुद्दाले एमालेकै पुरानो उम्मेदवार जेल पुगेको सन्दर्भमा यो पक्ष झन् महत्वपूर्ण बनेको छ ।
४९ वर्षे पाण्डे स्थानीय राजनीतिमा अझै यूवाकै श्रेणीमा गनिन्छन् । उनको हिँडडुल, बोल्ने शैली र मतदातासँगको प्रत्यक्ष सम्पर्कले उनी फरक प्रकारका उम्मेदवार भएको सन्देश दिएको छ ।

पर्सा–३ का मतदाताले पाण्डेको व्यवसायिक पृष्ठभूमिबाट काम गर्ने क्षमताको अपेक्षा गरेका छन् । सडक, रोजगारी, साना उद्योग र बजार व्यवस्थापनजस्ता विषय यस क्षेत्रका मुख्य मुद्दा हुन् ।

विशेषगरी यूवा मतदाता र पहिलोपटक मतदान गर्ने वर्गमा उनको स्वीकार्यता बढ्दो देखिन्छ । चुनावी प्रचारका क्रममा पाण्डेले देखाएको व्यवहारले उनलाई परम्परागत नेताभन्दा फरक रूपमा प्रस्तुत गरेको छ ।

भाषणमुखी भन्दा संवादमुखी शैली, घर–घरमा पुगेर समस्या सुन्ने प्रयासले धेरै मतदातालाई छोएको देखिन्छ । पाण्डे अवसरको खोजीमा मैदानमा उत्रिएका उम्मेदवार मात्र होइनन्; उनी एमालेका लागि इमेज सुधार गर्ने प्रयोग पनि हुन् ।

चुनावी भेटघाटका क्रममा पाण्डेले देखाएको व्यवहारप्रति पनि सकारात्मक प्रतिक्रिया आएको छ । औपचारिक भाषणभन्दा समस्या सुन्ने र संवाद गर्ने शैलीले मतदातामा नजिकको अनुभूति गराएको बताइन्छ ।

पाण्डेको पारिवारिक राजनीतिक पृष्ठभूमि फरक दलसँग जोडिएको भएपनि मतदाताले यसलाई विवादको विषय बनाएका छैनन् । बरु, स्थानीय तहमा सबैसँग मिलेर काम गर्न सक्ने क्षमताको रूपमा बुझ्नेहरू छन् ।

“सबै पार्टीसँग कुरा मिलाउन सक्ने मान्छे भए विकास रोकिन्न,” पोखरिया नगरपालिकाका स्थानीयहरुले बताए ।
पर्सा क्षेत्र नं. ३ मा एमालेको संगठनात्मक आधार अझै बलियो रहेको स्थानीयको बुझाइ छ । उम्मेदवार फेरिए पनि पार्टीप्रतिको समर्थन कायमै रहेको धेरै मतदाताले बताएका छन् ।

पर्सा–३ का मतदाताको धारणा सुन्दा रुपेश पाण्डेप्रति सतर्क भरोसा र अपेक्षा देखिन्छ । दाग नलागेको छवि, व्यवसायिक सोच र जनतासँगको व्यवहार उनका मुख्य बलिया पक्षका रूपमा हेरिएका छन् । मतदाताहरूका अनुसार यसपटकको चुनावमा अनुभवभन्दा आचरण निर्णायक बन्ने संकेत देखिएको छ ।

अनुभवको कमी उनको कमजोरी हो भने दाग नलागेको छवि, व्यवसायिक सोच र संवादमुखी व्यवहार उनको ठूलो पूँजी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय