वीरगञ्ज महानगरपालिका वडा नं. २० का स्थानीयवासी सघन शहरी तथा भवन निर्माण आयोजनाको लापरवाहीका कारण लामो समयदेखि सास्ती खेपिरहेका छन् ।

आयोजनाअन्तर्गत ठेकेदार कम्पनीले सडक खनेर अलपत्र पारेको भन्दै वडावासीहरू दैनिक जीवनयापनमै प्रभावित भएका छन् । वडा नं. २० का वडा अध्यक्ष रामकिसोर सिंह परागले लामो समयदेखि खनिएका सडक समयमा पुनःनिर्माण नगर्दा वडावासीलाई आवागमनमा असुविधा मात्र नभई धुलो–धुवाँ र फोहोरका कारण विभिन्न रोगको सिकार हुनुपरेको छ ।  “आयोजनाले सडक खनेर वर्षौंदेखि अलपत्र पारेको छ, यसले वडावासीलाई हैरानी मात्र होइन, स्वास्थ्यमा समेत नकारात्मक असर पारेको छ,” वडा अध्यक्ष परागले भने ।

सडकको अव्यवस्थित अवस्थामा रोक लगाउन वडा कार्यालयले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनालाई ज्ञापन पत्र बुझाइसकेको परागले जानकारी दिए । साथै, जिम्मेवार कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयलाई पनि बोधार्थ पठाइएको उनले बताए । उनका अनुसार, सडक निर्माण र व्यवस्थापनका काम तत्काल अघि नबढाए दोस्रो चरणमा वडावासीलाई लिएर आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

स्थानीयवासीहरूले आवागमन सहज बनाउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय