Thursday, May 30, 2024
spot_img
Homeफिचरक्वाटरमा ताला ठोकेर तारे होटलमा पालिरहेको छ जीतपुरसिमराले नयाँ हाकीम

क्वाटरमा ताला ठोकेर तारे होटलमा पालिरहेको छ जीतपुरसिमराले नयाँ हाकीम

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई उपमहानगरपालिकाले तीनतारे होटलमा राखेर पालिरहेको पाईएको छ । 
अघिल्लो साता उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएकी उपसचिब उर्मिला काफ्ले सिमराको तीनतारे होटल क्लासिक प्लाजामा बसेर कार्यालय आउजाउ गरिरहेकी छन् । 
प्रमुख प्रशासकीय अधिकृत काफ्ले बस्ने ठाउँ नभएर होटलमा बसेकी भने होइनन् । उपमहानगरले प्रमुख प्रशासकीय अधिकृतको आवासका लागि व्यवस्थापन गरेको फ्ल्याटमा ताला लगाएर राखिएको छ । 
उपमहानगरपालिकाले जीतपुरसिमरा–२ निमु फार्ममा प्रमुख प्रशासकीय अधिकृतका लागि एउटा फ्ल्याट भाडामा लिएको छ । तीनतले घरको दुई तल्ला भाडामा लिए बापत मासिक ३५ हजार रुपैयाँ उपमहानगरले भुक्तानी गर्ने गरेको छ । भुँइ तल्लामा शिक्षा महाशाखा प्रमुख एवं यसअघिका निमित प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद बस्ने गरेका छन् । दोश्रो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको लागि वातानुकुलित व्यवस्थित आवासको व्यवस्थापन छ । 
‘जीतपुरसिमरा उपमहानगरपालिकाले ४ बर्ष अघिदेखि भाडामा लिएको उक्त घरमा यसअघिका आधा दर्जन प्रमुख प्रशासकीय अधिकृतको आवास थियो तर नयाँ हाकीमले उक्त घर चित्त बुझेन नयाँ ठाउँमा व्यवस्थापन गर्न भन्नुभएको छ ।’ उपमहानगरका एक कर्मचारीले नयाँ इतिहाससंग भने ।
उपमहानगरले नयाँ हाकीम त्यसमा पनि पहिलोपटक महिला प्रमुख आउने भएपछि सोही अनुरुपको इन्टेरियर व्यवस्थापन गरेर चिटिक्क आवास गृह तयार पारेको थियो तर काफ्लेले त्याहाँ बस्ने ईच्छा नगरेपछि उपमहानगरका कर्मचारीहरु सिमरामा हाकीमका लागि नयाँ कोठा खोजीरहेका छन् । 
दोहोरो खर्चको मारमा उपमहानगर
भएको क्वाटरमा बस्नै नमानेर तारे होटल छिरेकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको खर्च उपमहानगरले बेहोर्दा कम्तिमा १० हजार रुपैयाँ दैनिक खर्च भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत काफ्ले होटल क्लासिक प्लाजाको ४००१ नम्बरको कोठामा बसेकी छन् । होटल स्रोतका अनुसार सो कोठाको दैनिक चार्ज ८ हजार रुपैयाँ रहेको छ । खाना, नास्ता समेत जोड्दा दैनिक कम्तमिा १० हजार रुपैयाँ प्रमुख प्रशासकीय अधिकृतलाई तारे होटलमा राखेर उपमहानगरले खर्च बेहोरिरहेको छ । तर होटलका म्यानेजर पुष्पराज भट्टका अनुसार लामो समय बस्ने ग्राहकका लागि होटलले छुट प्रदान गर्ने भएकाले दैनिक खर्च यतिनै हो भनेर भन्न नमिल्ने बताए । ‘हामीले कर्पोरेट ग्राहकलाई डिस्काउण्ट प्रदान गर्छौं, त्यसैले यति खर्च हो भनेर भन्न मिल्दैन’ भट्टले भने ।
अर्को तर्फ भएको कोठा छोडेर नयाँ ठाउँमा क्वाटर सार्दा दोहोरो खर्च उपमहानगरले बेहोर्नुपर्नेछ । ‘नयाँ फ्ल्याट खोज्दै छौं, नयाँ ठाउँमा सबै सामान नयाँ हाल्दा नयाँ खर्च थपिन्छ’ उपमहानगरका एक कर्मचारीले नयाँ इतिहाससंग भने ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले आफू होटलमा बस्दै आएको विषयमा आफूलाई जानकारी नभएको बताईन् । शुरुमा ‘यो विषयमा केही इस्यु छ र?’ भन्ने प्रश्न गरेकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेले दोश्रोपटक टेलिफोन सम्पर्क गर्दा आफुलाई केही जानकारी नभएको बताएर फोन् काटिदिईन् । Source :Nayaitihas.com

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: