Sunday, March 3, 2024
spot_img
Homeजीवनशैलीसिमानामा फहराइरहेको राष्ट्रिय झन्डा

सिमानामा फहराइरहेको राष्ट्रिय झन्डा

वीरगन्ज,१३ साउन /
पटक–पटक सीमा विवाद भएको नेपाल–भारतको बीचमा रहेको ठुटेखोला पुलमा अहिले निरन्तर नेपाली झन्डा फहराउँछ । हुलाकी सडकखण्डअन्तर्गतको ठोरी गाउँपालिका– २ मा रहेको ठुटेखोला पुलको दुवैतर्फ बारमा यसरी चन्द्रसूर्यअंकित राष्ट्रिय झन्डा फहराउन थालेको एक वर्ष हुनै लागेको छ ।

०७४ सालमा नेपाल सरकारले निर्माण गरेको यो पुल भारतले आफ्नो भूमि भएको दाबी गर्दै अवरोध गरेपछि तीन वर्षपछि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएपछि अहिले यहाँ भ्रमणमा आउने सबैभन्दा धेरै भारतीयहरू नै हुने गरेका छन् । राष्ट्रिय झन्डा फहराएको दृश्य समेटेर सेल्फी लिन र टिकटक बनाउन भारतीय र नेपालीहरूको यहाँ भिड लाग्ने गरेको छ । ठोरीलाई मधेस प्रदेशले पनि केही समयअघि पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । ठोरीमा करिब १० करोड लगानीमा ठोरी जंगल रिसोर्ट पनि खुलेको छ । यस्ता ठूला लगानीमा ठोरीमा होटेल व्यवसाय सञ्चालन हुने क्रम बढ्दो छ ।

यहाँ ४३५ नम्बरको सीमा स्तम्भ पनि छ । दुई वर्षअघि यहाँको सीमा स्तभ उखलेर फालिएको अवस्थामा फेला परेको थियो भने भारतीयहरू पानीका लागि यस क्षेत्रमा आएर गस्ती गर्थे । ०७४ साल वैशाखमा दुई देशका सीमा अधिकारीबीचको वार्ताले उक्त स्थान नेपालको भएको निष्कर्ष निकालेपछि सीमाका नेपाली समुदायले तुलनात्मक रूपमा कम दुःख व्यहोर्न थालेका छन् ।

‘पटक–पटक भारतीय हस्तक्षेपको सामना गर्दै आएपछि हामीले नै नेपालको राष्ट्रिय झन्डा राखेका हौँ,’ स्थानीय युवा सुदीप थापाले भने । एक सय दुई मिटर लामो पुलमा २० फिट अग्ला १२ वटा झन्डा गाडेका छन् । हावाहुरी र घामले झन्डा च्यातियो वा रङ खुइलियो भने उनीहरू साटिहाल्छन् । ठोरी नेपालको पुरानो नाका हो । पहिला नुन लिनका लागि यही नाकाको प्रयोग हुन्थ्यो । यहाँबाट भारतको भिखना ठोरी र जमुनिया बजारनजिकै पर्छ । नेपालीहरू भारतको ठूलो बजार नरकटियागन्जसम्म पुगेर किनमेल गर्छन् । पुलबाट करिब ३० मिटर दक्षिणमा भारतको प्रवेशद्वार छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: